January 22, 2025, 11:48 am
» राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्न खोज्दा ‘तनाव’

पुस १९, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपतिलाई अनुसन्धानकर्ताहरूले पक्राउ गर्न खोज्दा नाटकीय घटनाहरू भइरहेका छन्।

प्रहरी अधिकारीहरू राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका छन्।

डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ‘मार्शल ल’ लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो।

त्यहाँ के भइरहेको छ ?
स्थानीय समयअनुसार बिहान ८ बजे सुरुमा २० जना प्रहरी अधिकारीहरू यउलको घरतर्फ गएका थिए।

तर पछि उक्त सङ्ख्या बढाएर ८० पुर्‍याइएको त्यहाँस्थित बीबीसी संवाददाताले जनाएका छन्।

यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई “कानुनविपरीत” भन्दै त्यसलाई चुनौती दिने बताएका छन्।

यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकिरहेको बताइएको छ।

पक्राउपुर्जी किन जारी भयो ?
यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो।

उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ।

त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ।

तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

उनी कसरी निलम्बनमा परे ? 
डिसेम्बर १४ मा उनीविरुद्ध सांसदहरूले महाभियोग प्रस्ताव पारित गरेपछि यउल निलम्बनमा परेका थिए।

उनलाई लगाइएको महाभियोगलाई उक्त देशको संवैधानिक अदालतले स्वीकृत गरिदिएमा मात्र उनी पदबाट पूर्ण रूपमा निष्कासित हुनेछन्।

कोरियाको संवैधानिक अदालतमा कम्तीमा नौ जना सदस्य हुन्छन्।

त्यसमध्ये कम्तीमा छजना न्यायाधीशहरूले यउलको महाअभियोगलाई संवैधानिक ठाने भने मात्र उक्त निर्णय पारित हुन्छ।

हाल उक्त इजलासका लागि जम्मा छ न्यायाधीश मात्र रहेका छन्। त्यो भनेको एकजनाले मात्र उक्त निर्णयलाई अस्वीकार गरे भने महाभियोग कार्यान्वयन हुन सक्दैन।

विपक्षीहरूले नियुक्त हुने तीन नयाँ न्यायाधीश इजलासमा भएपछि महाअभियोगले पूर्णता पाउने आशा राखेका छन्।

राजनीतिक सङ्कट
यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्‌द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ।

यदि उनी पक्राउ परे भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्ने छन्।

‘मार्शल ल’ लागु गर्न खोजेपछि उनीविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो।

राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ-मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।  बीबीसी नेपालीबाट ।

प्रतिक्रिया