मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका छन् । लेटाङ नगरपालिका-७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा लागेका छन् ।
शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् ।
‘चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक १० क्विन्टलभन्दा बढी उत्पादन भयो’, राईले भने । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो ९० रुपैयाँका दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’ गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो चार सय ५० देखि पाँच सय ६० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।
राज एग्रीकल्चर फार्म नै सञ्चालन गरेका राईले खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिने बताए । राईले जस्तै सोही वडाका एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेको लेटाङ– ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँमा कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको राईको भनाइ छ ।
वडा नम्बर ७ जस्तै वडा नम्बर १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ । यो वडामा पनि एक हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगरले बताए ।
लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावतीले बताए । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेको उनको भनाइ छ ।
किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावतीले कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना रहेको सुनाए ।
प्रतिक्रिया