ठमेलमा प्रहरी र व्यवसायीकै योजनामा अवैध धन्दा : ट्राफिक प्रहरीले उठाउँछ अतिरिक्त रकम

- May 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । जनधनको सुरक्षा र अवैध क्रियाकलाप गर्नेमाथि नियन्त्रण लिई सम्बन्धित निकायमा बुझाउने अधिकारप्राप्त संस्था नेपाल प्रहरीअन्तर्गतका विभिन्न निकायबाट प्रहरीले नै अतिरिक्त रकम संकलन गर्ने गरेको पाइएको छ । शान्ति सुरक्षादेखि सडकमा गुड्ने सवारीसाधनको व्यवस्थापनका साथै स्थानीयस्तरमा कुनै पनि अवरोध नहोस् र भएमा तत्काल समधान गर्ने गरी नेपाल प्रहरीअन्तर्गत रहेको ट्राफिक प्रहरीबाटै पर्यटकीय क्षेत्र ठमेलबाट अवैध रुपमा अतिरिक्त रकम संकलन गरेको प्रमाण प्राप्त भएको छ । सो प्रमाणका अनुसार ठमेलका अधिकांश व्यवसायीसँग रकम असुली गर्ने गरेको र सो रकम बुझाएपछि आफूखुसी व्यवसाय गर्नमा समेत छुट हुने गरेको आरोप अन्य व्यवसायीहरुको रहेको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।

बाह्य र आन्तरिक पर्यटकहरुको भीडभाड हुने ठमेल क्षेत्रमा आफूखुसी जहाँ पायो त्यहाँ सवारीसाधन ओहोरदोहोर गर्न गराउन पाउने गरी विगत लामो समयदेखि ठमेल पर्यटन विकास परिषद्बाट अतिरिक्त रकम लिएको पाइएको छ । सो परिषद्का पूर्वअध्यक्ष समेत रहेका विवादास्पद व्यापारी तेजेन्द्रनाथ श्रेष्ठसँगको साँठगाँठबाट प्रहरीलाई अतिरिक्त रकमकै व्यवस्था गरेको प्राप्त भर्पाइबाट खुलेको छ । पूर्वअध्यक्ष श्रेष्ठले महाशाखाका प्रमुख वसन्त पन्तलाई आफ्नो होटल थर्ड आई, यिङयाङमा बोलाएर आफूअनुकूलताको व्यवस्था गरिदिन भन्दै गोप्य बैठक बसेको आरोप स्थानीयहरुको रहेको छ । गत मंगलबार पनि सोही विषयमा श्रेष्ठले प्रमुख पन्तलाई उनको होटलमा लगी अन्यलाई कडाइका साथ ट्राफिक नियम लागू गर्न र आफू र आफूमातहतकालाई खुकुलो गर्न भन्दै आग्रह गरेको दाबी स्रोतको छ ।

ट्राफिक प्रहरीको आयोजना कार्यक्रम भएको भन्दै अन्य सहभागीलाई निमन्त्रण गरेको भए पनि अन्ततः सो कार्यक्रममा व्यापारी श्रेष्ठमात्र रहेको बताइएको छ । यसरी विभिन्न बहानामा ट्राफिक प्रमुख पन्तलाई श्रेष्ठकै होटलमा राखेर ठमेल विकास परिषद्बाट अतिरिक्त भत्ता नै उपलब्ध गराउँदै आएको पाइएको छ ।यसरी आफूलाई पर्यटन व्यवसायको आवरणमा कलेज र म्यानपावर चलाउँदै आएका श्रेष्ठ कुनै समय लागूऔषध दुव्र्यसनको आरोपमा पक्राउ समेत परेका व्यक्ति हुन्। उनै श्रेष्ठको लगानीमा ठमेलस्थित होटल यात्रीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको थियो । गत मंगलबार दिउँसो २ बजेदेखि सुुरु भएको कार्यक्रम उद्घाटन गर्न एसएसपी वसन्त पन्त र सोह्रखुट्टेका डीएसपी गौतम मिश्र कार्यक्रमस्थल पुगेका थिए ।

होटल यात्रीका मालिक सागर पाण्डे ‘फेक रेस्क्यु’को विषयमा छानबिनमा परेका व्यक्ति हुन् । पाण्डे कुनै समय ट्रेकिङ व्यवसायीहरुको छाता संगठन टानका महासचिव समेत थिए । ठमेल क्षेत्रका प्रहरीलाई श्रेष्ठले दुरुपयोग गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको उच्च स्रोतको दाबी छ । सो कार्यक्रममा ठमेल विकास परिषद्लाई समेत श्रेष्ठले जानकारी गराएका थिएनन् । उनै श्रेष्ठ पूर्वअध्यक्ष रहेको संस्थालाई समेत थाहा नदिई ठमेलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।

पर्यटन व्यावसायीलाई ९८४१२४९६०८ नम्बरबाट कार्यक्रमबारे सन्देश निमन्त्रणा गरी डाकिएको थियो । उक्त नम्बर ट्राफिक प्रहरीको नभई तेजेन्द्र निकट व्यापारीको भएको समेत खुलेको छ । उक्त व्यक्तिले ट्राफिक प्रहरी महासाखा रामशाह पथले कार्यक्रम आयोजना गरेको उल्लेख गरेका थिए । प्राप्त विवरणअनुसार ठमेल पर्यटन विकास परिषद्ले सो क्षेत्रमा खटिएका ट्राफिक प्रहरीलाई २०७२ असोज १८ गते श्याम श्रेष्ठ नाम गरेका व्यक्तिको नाममा ५४ हजार, २०७४ पुस २४ गते श्याम श्रेष्ठकै नाममा ५४ हजार र २०७४ असोज ३० श्याम श्रेष्ठ नामकै व्यक्तिलाई ५४ हजार रुपैयाँ उपलब्ध गराएको भौचर दिएको भेटिएको छ । परिषद्ले भने सो रकम प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराएको अतिरिक्त खर्च भने नभएको दाबी गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने गत मंगलबार औपचारिक कार्यक्रम नभएको जनाएको छ । ट्राफिक प्रहरीले ठमेल पर्यटन विकास परिषद्बाट घरभाडाबापत रकम लिने समेत आरोप लागेको छ । परिषद्ले विगत लामो समयदेखि ट्राफिक प्रहरीको घरभाडा तिर्ने गरेको पाइएको छ । सो परिषद्ले मासिक १८ हजार रुपैयाँका दरले भाडा लिने गरेको भेटिएको हो । ठमेलस्थित श्याम श्रेष्ठको फ्लयाटमा रहेका ट्राफिक प्रहरी बसेको भाडा भने परिषद्ले व्यहोर्दै आएको छ । प्राप्त कागजातअनुसार प्रतिमहिना १८ हजारका दरले ३ महिनामा ५४ हजार र कहिलेकाहीँ ५ महिनाको एकमुष्ट रुपमा ९० हजार रुपैयाँसम्म बुझाउने गरेको पाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार कुनै पनि प्रहरीले नागरिकबाट वा संघ÷संस्थाबाट कुनै पनि प्रकारको सहयोग लिन नपाउने बताएका छन् । जनताकै करबाट प्रहरी कर्मचारीलाई सरकारले आवास र तलब दिने गरेको बताउँदै प्रवक्ता पोखरलेले भने, ‘अफिसकै भाडा भनेर यहाँ अरु कुनै बहानामा कसैले रकमको सहयोग लिएको भए सो बारे छानबिन गरेर कारबाही गरिनेछ ।’ ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले ठमेलमा अस्तव्यस्त रुपमा सवारीसाधनको ओहोरदोहोर हुने र पर्यटकलाई समेत समेत अवरोध पुगेका कारण सो व्यवस्थापनका लागि तत्कालीन अध्यक्ष स्वर्गीय नाम्गेल लामाकै पालमा ट्राफिक प्रहरीलाई ठमेलमा ल्याएको हो, त्यस समयमा ३र४ जना ट्राफिक भएका कारण परिषद्कै अफिस रहेको भवनमा खाली रहेको एक कोठामा बस्ने व्यवस्था मिलाएको बाहेक अन्य अतिरिक्त रकम भने दिने नगरेको बताए ।

उनले भने, ‘मलाई घरधनीको नाम ठ्याक्कै थाहा भएन, म अहिले खासै सो परिषद्मा नगएको पनि धेरै भयो पछिल्लो समयमा के भइरहेको छ, त्यसका बारेमा परिषद्मा मैले सोध्नुपर्छ, मेरो दुई कार्यकालसम्म कुनै पनि प्रकारको रकम ट्राफिक प्रहरीको नाममा दिएको छैन, अहिलेको बारे मलाई थाहा हुने कुरा भएन ।’ यस सम्बन्धमा ट्राफिक प्रहरी प्रमुख पन्तको मोबाइलमा सम्पर्क गर्दा उनको फोन लामो समयसम्म ‘व्यस्त’ भएकाले उनीसँग सम्पर्क हुनसकेन । अहिले सो परिषद्को अध्यक्षमा समिर गुरुङ रहेका छन् । गुरुङ र श्रेष्ठकै योजनामा सो अवैध कार्य गरी परिषद्बाट रकम दिएको आरोप अन्य पदाधिकारीहरुको लगाएका छन् । अहिले परिषद्को कार्यालय रहेको घर विक्रम पाण्डे नाम गरेका व्यक्तिकोमा रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट