December 23, 2024, 3:20 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

‘ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्ने’

मंसिर २०, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

पाटन (ललितपुर),  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विश्व स्वयंसेवक दिवसका अवसरमा महानगरद्वारा आज यहाँ आयोजित २५औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्दै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रत्येक वर्ष कुनै न कुनै काम गरिरहेको उल्लेख गर्नुभयो ।

“तपाईंहरुको हरेक कामको मूल्याङ्कन हुन्छ, यस वर्ष स्वयंसेवक कोषमा नौ लाख रुपैयाँ जम्मा गरिदिनेछौँ”, प्रमुख महर्जनले भन्नुभयो । उहाँले दिगो विकास लक्ष्य २०३० को उपलब्धि हासिल गर्न बालबालिकाको मृत्युुदर र मातृ मृत्युदर कम गर्न स्वयंसेविकाहरुलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभयो ।

महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले समाजलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले मातृमृत्युदर र बालमृत्युदर घटाउने महत्वपूर्ण भूमिकामा स्वास्थ्य स्वयंसेविकाहरु रहेकाले उहाँहरुलाई उत्साहित र प्रोत्साहित गरेर अझै सुधार ल्याउनुपर्ने  बताउनुभयो ।

ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा स्वयंसेविकाहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताउनुभयो । ललितपुर महानगरमा हाल एक सय ८७ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

प्रतिक्रिया