काठमाडौं, । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ५५ लाख नाघेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या दुई करोड ५५ लाख २४ हजार एक सय ८९ पुगेको छ ।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २८ लाख बढी हो । गत वर्ष असोजसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड २२ लाख ७४ हजार छ सय २२ थियो ।
गत असोजसम्म वाणिज्य बैंकहरूबाट मोबाइल बैंकिङ सुविधा लिने प्रयोगकर्ताको संख्या दुई करोड १८ लाख ६७ हजार चार सय २८ छ ।
यसैगरी विकास बैंक र फाइनान्स कम्पनीबाट मोबाइल बैंकिङ लिने प्रयोगकर्ताकोे संख्या क्रमशः ३३ लाख ९५ हजार चार सय २१ र दुई लाख ६१ हजार तीन सय ४० छ ।
गत आवको सोही अवधिमा भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या क्रमशः एक करोड ९२ लाख एक हजार एक सय ७९, २९ लाख १७ हजार पाँच सय एक र १६ हजार नौ सय ४२ रहेको थियो ।
गत असोज मसान्तसम्म इन्टरनेट बैंकिङ ग्राहकको कुल संख्या भने २० लाख २६ हजार पाँच सय २४ पुगेको छ ।
जसमध्ये वाणिज्य बैंकमा १४ लाख १६ हजार एक सय ५९, विकास बैंकहरूमा पाँच लाख ९३ हजार आठ सय ५९ र फाइनान्स कम्पनीहरूमा १६ हजार पाँच सय छन् ।
गत वर्षको असोजसम्म अवधिमा यस्तो ग्राहक संख्या १६ लाख २५ हजार नौ थियो जसमध्ये वाणिज्य बैंकहरूका ११ लाख दुई हजार नौ सय १५, विकास बैंकहरूका पाँच लाख सात हजार नौं सय ३४ र फाइनान्स कम्पनीहरूका १४ हजार एक सय ६० इन्टरनेट बैंकिङ प्रयोगकर्ता थिए ।
नेपाली बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रको कुल संख्या भने गत आसोजसम्म एक हजार एक सय छ ।
जसमध्ये वाणिज्य बैंकहरूको एक हजार ८३ र विकास बैंकहरूको १७ वटा छ ।
फाइनान्स कम्पनीहरूले भने शाखारहित सेवा केन्द्र भने सञ्चालनमा ल्याएका छैनन् ।
गत आर्थिक वर्षको सोही अवधिमा शाखारहित सेवा केन्द्रको कुल संख्या एक हजार एक सय ९६ थियो ।
जसमध्ये वाणिज्य बैंकहरूको एक हजार दुई सय ७९ र विकास बैंकहरूको १७ थियो ।
राष्ट्र बैंकका अनुसार गत असोजसमम बैंक तथा वित्तीय संस्थाहरूको शाखारहित सेवा केन्द्रका ग्राहक संख्या तीन लाख एक हजार एक सय छ ।
सोमध्ये वाणिज्य बैंकहरूमा दुई लाख ९९ हजार चार सय २१ र विकास बैंकहरूमा एक हजार छ सय ७९ छ
। गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रतर्फको कुल ग्राहक संख्या तीन लाख १९ हजार आठ सय ३० थियो ।
जसमध्ये वाणिज्य बैंकहरूको तीन लाख ९१ हजार सात सय ८१ र विकास बैंकहरूको ४९ थियो । (आर्थिक दैनिकबाट)
प्रतिक्रिया