नाम र दाम दुवै : शिक्षण पेसा छाडेर तरकारी खेतीमा

- April 7, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पाल्पा । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उहाँले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गर्नुभएको हो । विगत तीन वर्षयता उहाँले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आउनुभएको छ ।

किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा विभिन्न सामग्री सहयोग गरेपछि उहाँले तरकारी खेती गर्ने अठोट गर्दै व्यवसाय चलाउनुभएको हो । आफ्नै १२ रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाउनुभएको छ ।

उहाँले आधुनिक प्रविधिबाट प्लास्टिक टनेलभित्र काँक्रो, घिरौँला, बोडी, सिमी, लौका, फर्सी जातका तरकारी लगाउनुभएको छ । तरकारी बिक्रिबाट मासिक रु २० हजारदेखि रु ३० हजार आम्दानी गर्ने गरेको पाण्डे बताउनुहुन्छ ।

“जागिरमा अर्काको बन्धनमा बाँधिनुपर्ने, व्यवसायले समाजमा नाम र दाम दुवै मिलेको छ,” उहाँले भन्नुभयो । बिक्री गर्न बजारको समस्या नभएको उहाँको भनाइ छ । बर्सेनि जग्गा विस्तार गरी व्यवसाय बढाउँदै लैजाने उहाँको सोच छ । बेमौसमी जातका तरकारीले बजारमा उचित मूल्य पाएपछि मौसमीभन्दा पनि बेमौसमी जातका तरकारी उत्पादनमा जोड दिएको पाण्डे बताउनुहुन्छ ।

तीन वर्ष अगाडिबाट व्यवसाय सुरु गर्नुभएका पाण्डे अहिले यस क्षेत्रकै अगुवा कृषकका रुपमा चिनिनुहुन्छ । यहाँ उत्पादन गरिएको तरकारी रामपुरको बेझाड तथा चापाकोट बजारमा बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । थोरै लगानीमा घरमै बसेर मनग्य आम्दानी लिन सकिने हुँदा अरुलाई पनि तरकारी व्यवसाय गर्न पाण्डेले सल्लाह दिँदैआउनुभएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!