अँध्यारोका कारण हक्की स्थगित

- December 28, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-विक्रम गिरी

विराटनगर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ ।

निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि दुवै टोलीका खेलाडीले अँध्यारोमा खेल्न नमानेपछि खेल स्थगन गरिएको थियो । साँझ ४ बजेपछि मात्र उक्त खेल सुरु हुन लागेको थियो । “खराब प्रकाशका कारण खेल स्थगन गरिएको हो,” हक्की प्रशिक्षक राजेन्द्र पाठकले भन्नुभयो । उक्त खेल आज पुनः सुरुदेखि खेलाइने छ । उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । यसअघि नेपाली सेना फाइनलमा प्रवेश गरिसकेको छ । सेनाले मध्यपश्चिमाञ्चललाई पराजित गरेको थियो ।

यस्तै महिला हक्कीतर्फ आजको खेलमा राउन्ड रोबिन लिगमा सुदूरपश्चिमाञ्चलले सेनालाई १–० गोलअन्तरले हरायो । जितसँगै सुदूरपश्चिमाञ्चल ६ अङ्कसहित शीर्षस्थानमा छ । आज सुप, पश्चिमाञ्चलसँग तथा सेना पूर्वाञ्चलसँग खेल्नेछन् । महिलातर्फ सुदूरपश्चिमले तीन खेलमा पूरै जित हासिल गरेको छ । आजको खेल जितेमा उसले स्वर्ण जित्नेछ ।

पुरुष फुटबल

पुरुष फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । धरानमा सम्पन्न खेलमा मङ्गलबार समूह ‘ख’मा रहेका सेना र सशस्त्र प्रहरीले गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पूरा भएको हो ।

समूह ‘ख’बाट सेनाले ७ अङ्कसहित समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । पाँच अङ्क जोडेको सशस्त्र प्रहरी समूहको उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ ।

यस्तै समूह ‘क’को विजेता हँुदै नेपाल प्रहरी तथा मध्यमाञ्चल उपविजेताका रुपमा यसअघि सेमीफाइनल पुगिसकेका छन् । प्रहरीले आज सशस्त्र प्रहरीसँग तथा सेनाले मध्यमाञ्चलसँग सेमिफाइनल खेल्नेछन् ।

तेक्वान्दो

मङ्गलबार सम्पन्न पुरुषतर्फको तेक्वान्दोमा ८७ किलो तौलमा सेनाका रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जित्नुभयो । उक्त स्पर्धामा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र सशस्त्रका गोपाल पुतुवारले कास्य पदक हात पार्नुभयो ।

यस्तै ५७ किलो तौलमा सेनाका ज्ञानी चुनाराले स्वर्ण पदक हात पार्नुभयो । मध्यमाञ्चलका करुणा थापाले रजत तथा मध्यपश्चिमाञ्चलका सपना सारु मगर र सीता तामाङले कास्य पदक जित्नुभयो ।

यसैगरी महिला ५३ किलो तौलमा सुदूरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीका निमा गुरुङले स्वर्ण पदक जित्नुभयो । मध्यमाञ्चलका रेश्मा थापा मगर र पश्चिमाञ्चलका होमकुमारी गुरुङले भने कास्य पदक जित्नुभयो । बैसठ्ठी किलो तौलमा सशस्त्रकी सङ्गीता बस्यालले स्वर्ण, पूर्वाञ्चलकी सुष्मा श्रेष्ठले रजत तथा मध्यपश्चिमाञ्चलका प्रतिभा थारू र पश्चिमाञ्चलका एलिसा केसीले कास्य पदक जित्नुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट