नगरपालिकाको फोहर व्यवस्थापन हुन सकेन

- September 24, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जुम्ला । चन्दननाथ नगरपालिका क्षेत्रभित्रका फोहर व्यवस्थापन हुन नसक्दा नगरवासी समस्यामा परेका छन् ।

जिल्ला सदरमुकामको मुटुभित्र रहेको नगरपालिका दिनानुदिन फोहर बन्दै जाँदा पनि त्यसको सहि व्यवस्थापन हुन नसक्दा समस्या आएको हो । नगरपालिका आफैँमा स्वायत्त निकाय हो, यसले आफ्नो गुरु योजना तयारगरी अघि बढ्नु पर्दछ तर त्यो नहुँदा नगरपालिका दुर्गन्धित बन्दै गएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

तीन महिना अघि पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महत, सांसद गोमा कुँवर र डिल्लीप्रसाद काफ्ले बसेर यहाँको फोहरको वैज्ञानिक व्यवस्थापन गर्न निर्णय गरेका थियौँ, तर त्यसमा कार्यकारी अधिकृत यामनारायण गौलीले उक्त निर्णय कार्यान्वयनमा लिन चासो देखाएनन् र नगरपालिकामा बसेकाले लत्याए, प्रजिअ पण्डितले भने । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वैद्यनाथ झाले सदरमुकाम भित्रको दुर्गन्धित जुगाड खोला सफा हुनुपर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले दूरदृष्टिको अभाव र काम चलाउ प्रवृत्तिले नगरपालिका अस्तव्यस्त रहेको टिप्पणी गरे । कार्यकारी अधिकृत नै क्रियाशील भएर नलागेको उनको आरोप थियो । नागरिक समाजका राजबहादुर महतले नगरपालिकाले सबै खालका कर उठाउने तर त्यही अनुसार काम नगर्ने प्रवृत्तिले पनि समस्या बढ्दै गएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महतले कामभन्दा प्रतिवेदन राम्रो गर्ने संस्कारले विकासमा ठगी भइरहेको प्रतिक्रिया दिए ।

नगरपालिकाका निमित्त कार्यकारी प्रमुख लोकेन्द्र महतले नगरपालिकाको श्री ढुस्का भन्ने ठाउँ तीनवर्षका लागि फोहर फाल्ने सम्झौता गर्ने अन्तिम टुङ्गो लागे पनि पछिल्लो चरणमा विवाद आएको बताए । नगरपालिकाले फोहर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइडको टुङ्गो लगाउन सकेको छैन । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!