लेखापालविरुद्ध मात्र मुद्दा : कार्यालय प्रमुखलाई उन्मुक्ति

- June 30, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कार्यालय प्रमुखसहितको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भए पनि अख्तियारले भने लेखापालविरुद्ध मात्रै मुद्दा चलाएको छ ।

अख्तियारको अनुसन्धानमा मालपोत कार्यालयका लेखापाल ठाकुरले मालपोत कार्यालयमा उठेको राजस्व रकम कार्यालय प्रमुख मदनप्रसाद गुप्तासहितको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुलेको हो । ठाकुरसँग तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको मिलेमतो रहेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

राजस्वको रकम ठाकुर र गुप्ता दुवैको संयुक्त खातामा जम्मा गरी भ्रष्टाचार गर्ने गरेको पाइएको हो । २०६८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापालको पदमा नियुक्ति भएका उनले ९ वर्षमा ३ करोड १५ लाख ७५ हजार आर्जन गरेका छन् । यो सम्पत्तिमध्ये ३ करोड ४ लाख गैरकानुनी रूपमा आर्जन गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।

३० वैशाख २०७६ मा लेखापाल ठाकुरले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गाउँपालिका ५ स्थित कि.नं. ६८ क्षे.फ. ०—७—१० बिघा जग्गा ३ लाख रुपैयाँमा खरिद गरेको पाइएको छ । साथै लेखापाल ठाकुर र कार्यालय प्रमुख गुप्ताको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा सञ्चालित खातामा अख्तियारले २ करोड ७६ लाख ४४ हजार १ रुपैयाँ मौज्दात रकमसमेत फेला पारेको छ । सरकारी खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा देखिएको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले लेखापाल युगलकिशोर ठाकुर र कार्यालय प्रमुखमा नामको विभिन्न बैंक खातामा ११ लाख ३९ हजार १५ रुपैयाँ मौज्दात देखिएको छ । साथै अख्तियारले ११ चैत २०७५ मा लेखापाललाई नियन्त्रण लिँदा उनको कोठाबाट २४ लाख ९२ हजार रुपैयाँ बरामद गरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले नियन्त्रणमा लिएर जाँच गरेको अवधिमा लगानी तथा बैंक मौज्दातमा ३ करोड १५ लाख ७५ हजार १६ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको जनाएको छ ।

युगलकिशोर ठाकुरले सार्वजनिक सेवाको पदमा प्रवेशदेखि २०७६ वैशाख मसान्तसम्मको जाँच अवधिमा ३ करोड १५ लाख ७५ हजार १६ रुपैयाँबराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको अख्तियारले अभियोग पत्रमा उल्लेख छ । उनको आयभन्दा बढी गरिएको खर्च लगानीको स्रोत खुल्न नआएकाले ३ करोड ४ लाख ९४ हजार ३ सय ८ रुपैयाँ गैरकानुनी देखिएको अभियोगमा सोहीबराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । साथै उनको साथबाट बरामद भएको स्रोत नखुलेको २४ लाख ९२ हजार जफत माग गरिएको छ । कार्यालय प्रमुख र लेखापालको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा सञ्चालित खाता नं. १२३०००१९१८१० मा देखिएको मौज्दात २ करोड ७६ लाख ४४ हजार १ रुपैयाँ जफत गर्न माग गर्दै मुद्दा दर्ता भएको छ ।  -निराजन पौडेल राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!