राप्रपाहरू मिल्नु अपहरिर्य छः विन्दा गिरी

- December 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विन्दा गिरी केन्द्रीय कार्य सम्पादन समिति सदस्य
राष्ट्रिय प्रजातन्त्रपार्टी (संयुक्त)

यस पटकको उपनिर्वाचन परिणामलाई कसरी लिनु भएको छ ?
सोचे जस्तो परिणाम आएन । यो उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बाहेक अन्य दलको खासै राम्रो स्थिति रहेन । संगठन गर्दै जाउँ आगामी निर्वाचनमा हाम्रो पनि राम्रो स्थिति हुनेछ । अब हामी गाउँ–गाउँ, टोल टोल शहर–शहर जानु पर्छ । जनताले रुचाएमा मात्र राम्रो परिणाम आउने हो । जनताले परिवर्तन खोजिरहेका हुन । यस पटक राप्रपाहरूलाई जनताले भरपर्दो दलको रुपमा लिएनन् । सबैतिर संगठन नभएका कारण राप्रपा(संयुक्त)को सोचे जस्तो परिणाम नआएको हो । त्यसो त नेकपाले पहिले जितेको ठाउँमा अहिले काग्रेसले जित्नु भनेको जनताको नेकपा प्रतिको वितृष्णालाई मान्नु पर्छ । जस्तो उदाहरण भक्तपुरमा पूर्व एमालेले जितेको ठाउँमा उपनिर्वाचनमा कांग्रेसले जित्यो ।

राप्रपा (संयुक्त) र राप्रपामिल्नु पर्ने आवाजउठिरहेको छ नि ?
राप्रपा संयुक्त र राप्रपा मिल्नु पर्ने आवाज उठ्नु स्वभाविक हो । पार्टी एकता अपरिहार्य छ । पार्टी एकता हुनु नेतादेखि कार्यकर्ता सबैलाई राम्रो हो । यो आम नेपाली जनताको हितको लागि पनि हो ।

राप्रपाहरू मिल्नु पर्छ कि पर्दैन तपाईको व्यक्तिगत भनाई के हो ?
राप्रपाहरू मिल्नु पर्छ, मिल्न ढिलाई भइरहेको छ । राप्रपा (संयुक्त) र राप्रपा मिलेर वैकल्पिक शक्तिको रुपमा जनतामाझ जानुपर्छ । कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको अवस्था र नेकपा दुई तिहाइको सरकारले भ्रष्टाचार र अनियमिततालाई संस्थागतगर्दै गएको अवस्थामा राप्रपाहरू राम्रोसंग जनता माझ गए निसंदेह हामी वैकल्पिक शक्ति बन्न सक्छौं ।

राप्रपा (संयुक्त) को वटमलाइन संवैधानिक राजतन्त्र र हिन्दुअधिराज्य हो, तर यसभन्दा पृथक मत राख्ने पार्टी भित्रै देखिन्छ नि ?
हाम्रो पार्टीको वटम लाइनभनेको संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य नै हो । पार्टीको विधानमा पनि यहि छ । मलाई लाग्छ, यस विषयमा पार्टीमा मतभेद छैन । छिटफुट कसैले पार्टीको वटम लाइन भन्दा पृथक बोले भने त्यो व्यक्तिगत मात्र हो ।

नेपालमा हिन्दु धर्म मान्ने ९० प्रतिशतभन्दा बढी मत छ भनिन्छ तर हिन्दु धर्मलाई वटम लाइन मान्ने पाटीको मतकिन घट्दै गएको हो ?
नेपाली जनताले विकास र परिवर्तन पनि चाहिरहेका छन् । त्यसैले हिन्दु राष्ट्र भनेको सबै नेपालीहरूको आस्थाको धरोहर हो । दुई तिहाइ सरकारले विकास र परिवर्तनको बाटो नहिडेर महँगी, वेरोजगारी, भ्रष्टाचार, अनियमितता, अशान्तिलाई प्रश्रय दिंदै गएकोले अब नेपाली जनताले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थालाई अपरिहार्य मानेको अवस्था छ । आफ्नै धर्म संस्कृति र मौलिकतालाई निरन्तरतालाई नयाँ शक्तिको आवश्यकता जनताले महशुस गरिरहेका छन् । त्यो आवश्यकता राप्रपा (संयुक्त)ले पुरा गर्न सक्छ ।

भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक, लिम्पुयाधुरालाई पनि राखेको छ, यस विषयमा राप्रपा (संयुक्त) स्पष्ट रुपमा बालेको छैन नि ?
यो विषयमा राप्रपा (संयुक्त) ले आवाज उठाइरहेको छ र खासमा चासो हुनुपर्ने अहिले दुई तिहाई बहुमतको शक्ति भएको सरकार हो । खास रुपमा नेकपा र कांग्रेस यसमा जिम्मेवार बन्नु पर्छ । यस विषयमा उनीहरू नै पहिला अघि बढ्नु पर्छ । यसै मेसोमा हेर्दा त्यहाँका नागरिकहरू पहिले कुन अवस्थामा थिए, अहिले कुन अवस्थामा छन्, त्यो स्पष्ट हुनुपर्छ । त्यहाँका जनप्रतिनिधि के भनिरहेका छन्, त्यो विषय महत्वपूर्ण हो । राप्रपा संयुक्त भने जनतालाई यस विषयमा सजग गराउदै अघि बढिरहेको छ । हामी सरकारलाई ज्ञापनपत्र दिने देखिन सडकमा ¥याली निकाल्ने कार्यक्रमहरू समेत गरिरहेका छांै । यो श्रृखला जारी रहने छ ।
आगामी निर्वाचनसम्म राप्रपा (संयुक्त) लाई राम्रो हैसियतमा पू¥याउन तपाईहरूसंग के के एजेण्डा छन ?
हाम्रो पार्टीलाई राम्रो हैसियतमा पू¥याउनका लागि जनतालाई सजग गराएर अघि बढ्नु पर्छ । संघियताका नाममा जनताले धान्न नसक्ने गरी राष्ट्रलाई खरबौं ऋणमा डुवाएको अवस्था छ । यस्तो अवस्थामा राप्रपा संयुक्तले स्पष्ट भिजन लिएर कार्यकर्तालाई थप सशक्तरुपमा अघि बढाएमा आगामी निर्वाचनमा राम्रो स्थानमा पार्टी पुग्ने छ, अहिले भन्दा पार्टीको स्थान राम्रो
हुनेछ ।

राप्रपाहरूले कम मत ल्याउनुमा पार्टी नेतृत्वको कारण पनि भनिन्छ । यसमा तपाईको भनाई के छ ?
गत निर्वाचनमा जनताले हिन्दु राष्ट्र र राजसंस्था प्रति समानुपातिकमा दिएको मत हेर्दा राप्रपा निर्णायक स्थानमा थियो । त्यो अवसरलाई पार्टी नेतृत्वले सही रुपमा सदुपयोग गर्न नसक्दा र निर्वाचनकै मुखमा पार्टी फुट्नु र पटक पटक सरकारमा गएको कारणले नेतृत्वप्रति आलोचना भएको हो ।

हिन्दु धर्म मान्ने पार्टीहरूलाई एकिकृत गर्नु पर्छ भनिन्छ तर यस विषयमा नेताहरूले गम्भीर चासो राखेको देखिदैन नि ?
हिन्दु धर्मसंग सम्बन्धित विभिन्न संघ संस्था, धार्मिक संगठनहरूलाई समेट्दै राप्रपा (संयुक्त)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हो । यसका लागि राप्रपा (संयुक्त)ले समान, विचार र आस्था भएका सम्पूर्ण संघ संगठनहरूलाई समेट्दै पार्टीलाई अग्रणी शक्तिको रुपमा स्थापित गर्नु पर्छ ।

अन्तिममा देशवासीलाई के भन्नु हुन्छ ?
सम्पूर्ण देशवासीलाई अब हाम्रो राष्ट्र र राष्ट्रियताको संरक्षणको लागि संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पूनस्थापना गर्न आवश्यकता छ । यहि निरन्तरतासहितको वैज्ञानिक परिवर्तन गर्न सकेमामात्र राष्ट्र समृद्ध हुन सक्छ । त्यसैले राप्रपा (संयुक्त)मा नै आवद्धता जनाउनको लागि सबै देशवासीमा आव्हान गर्दछु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!