सम्बन्ध विच्छेद: सात जुनि संगै जिउन खाएकाे कसम क्षणभरमै चकनाचुर

- November 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बेसीशहर : सँगै जिउने कसम खाएर साइनो जोडेका जोडीबीच आपसमा समझदारी हुन नसक्दा क्षणभरमै त्यस्तो साइनो पराइमा परिणत हुनेगर्छ। एउटै रथका दुई पांग्रा भनिएका पति-पत्नीबीच विमेल भएपछि लमजुङमा सम्बन्ध बिच्छेद गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ।देवानी संहिता ऐन २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयन भएको पन्ध्र महिनामा साढे दुई सय जनाले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गरेका छन् । कात्तिक महिनासम्म २ सय जना महिलाले सम्बन्ध विच्छेदका मुद्‍दा दर्ता गरेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले बताए । उनकाअनुसार १ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्‍दा फछ्यौँट भई सबै मिलापत्र गरिएको छ । त्यस्तै ४५ वटा मुद्‍दा मात्रै फैसला हुन बाँकी रहेको छ ।

विगतमा महिलाले सम्बन्ध विच्छेद गर्दै आएपनि नयाँ कानुन लागुभएसँगै सम्बन्ध विच्छेद गर्नेमा पुरुषको संख्या पनि बढ्दै गएको छ। गत कात्तिक महिनासम्म जिल्ला अदालतमा परेको सम्बन्ध विच्छेदको मुद्‍दामध्ये ६८ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन् । ६८ वटा मुद्‍दा मध्ये २० वटा सम्बन्ध विच्छेद भइसकेको र ४१ वटा मुद्‍दा फैसला हुन बाँकी रहेको श्रेस्तेदार भण्डारीले बताए ।

नयाँ कानुन लागु भएको एक वर्षमा १ सय ९८ सम्बन्ध विच्छेदका मुद्‍दा दर्ता भएको थियो । महिलाको १ सय ४७ र पुरुषको ५१ वटा मुद्‍दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७४÷२०७५ मा १५१ मुद्धा दर्ता भएको थियो । २०७३ ÷२०७४ मा १०८ वटा, २०७२÷२०७३ सालमा सम्बन्ध विच्छेदका मुद्‍दा ११६ वटा परेको थियो ।

विवाह गरेर एक÷दुई महिना बिताएकादेखि ५/६ दशक कटाएका समेत सम्बन्ध विच्छेद गर्ने भन्दै न्यायालयको ढोकामा पुग्ने गरेका छन् । पछिल्ला दिनमा महिला आफै सम्बन्ध विच्छेदमा अग्रसर भएको देखिन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार महिलाले चाहने बित्तिकै सम्बन्ध विच्छेद हुने भएकाले पनि उनीहरू अग्रसर भएका हुन् ।

अधिकारकर्मी पछिल्लो समय महिलामा सचेतना बढेकाले सम्बन्ध विच्छेद बढेको बताउँछन् । कतिपयले भने आधुनिकता वा पश्चिमा संस्कृतिको नक्कल समेत भनेर टिप्पणी गर्ने गरेका छन् । लमजुङ बार इकाईका अध्यक्ष कृष्णप्रसाद अधिकारी बैदेशिक रोजगारीपछि सृजित घटनाबाट बढी सम्बन्ध विच्छेद भएको पाइएको बताए।

पुरुष वैदेशिक रोजगारबाट फर्किदा श्रीमती र पसिना बगाएर कमाएको सम्पत्ति दुवै गुमाएर प्रहरीमा पुग्नेको संख्या बढ्दो छ । सँगै बाच्ने कसम खाएर जोडिएको सम्बन्ध पति विदेश गएपछि एकाएक भत्कने गरेको छ । जिल्ला अदालतमा परेका उजुरी अनुसार पत्नीको परपुरुषसँगको सम्बन्ध मात्र नभई पतिले कमाएको सम्पत्ती समेत लिएर हिँडिदिनाले दर्जनौं जोडीको सम्बन्ध छुट्टिएको छ।

कलिलै उमेरमा विवाह गर्ने र केही समयमा नै सम्बन्ध विच्छेद गर्नेहरु पनि उत्तिकै रहेको अदालतको तथ्याङ्कले देखाउँछ । अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेमध्ये कतिपय कलिला उमेरका रहेको  जिल्ला अदालतले जनाएको छ ।

लमजुङका प्रहरी प्रमुख डीएसपी रवीन्द्रमान गुरुङ श्रीमतीबाट पीडित बनेका पुरुषको गुनासो कार्यालयमा दैनिक आउने गरेको बताउँछन् । कलिलै उमेरमा विवाह गर्नु, फरक-फरक जातमा विवाह गर्न, उमेरको भिन्नता, हाडनाता, श्रीमान वैदेशिक रोजगारमा जाने, बहुविवाहलगायत सम्बन्ध विच्छेदका कारण रहेको प्रहरी नायव उपरीक्षक गुरुङले बताए।

सामाजिक संजालको बढ्दो प्रयोग र त्यसको दुरुपयोग, बैदेशिक रोजगारबाट सृजित समस्याले सम्बध विच्छेद बढ्ने गरेको नागरिक समाज लमजुङका अध्यक्ष दिपक बराल बताउँछन् । ‘श्रीमान विदेश जानासाथ श्रीमती सहर झर्ने चलन छ,’ बराल भन्छन, ‘श्रीमान विदेशबाट फर्कदा श्रीमती अर्कैसँग पुगेका हुन्छन, कि त लसपसका घटनाले सम्बन्ध विच्छेदसम्म नै पुर्‍याउँछ।’

त्यति मात्र नभई सानो घरायसी झैंझगडाका कारण पनि सिधै सम्बन्ध विच्छेद जस्तो गम्भीर निर्णय गर्ने प्रवृतिका कारण पनि यसको संख्या बढी रहेको सरोकारवाला बताउँछन् । जिल्ला अदालतका अनुसार सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवन शैलीको नक्‍कल, देखासिकी, सामाजिक संजालको दुरुपयोग जस्ता कारणहरु रहेका छन् । यसरी बावु आमाले गर्ने सम्बन्ध विच्छेदको प्रत्यक्ष असर नाबालक छोराछोरीमा पर्न गई उनीहरुको भविष्य समेत अन्योलमा पर्ने गरिन्छ। साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!