कर सम्बन्धी कागजात बारेका निर्णय उल्ट्याउन ट्रम्पको माग

- November 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्।

न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकम बारेको अनुसन्धान अन्तर्गत ती कागजपत्र माग गरिएका हुन्।

आफ्ना कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार गर्ने ट्रम्प दशकौं यताका एक मात्रै अमेरिकी राष्ट्रपति हुन्।

विवाद के हो?
आफ्ना कर सम्बन्धी विवरणलाई गोप्य राख्ने यो राष्ट्रपति ट्रम्पको सबैभन्दा पछिल्लो प्रयास हो। यसै महिनाको सुरूमा न्यूयोर्कको एउटा अदालतले अभियोजकहरूले ट्रम्पको लेखा हेर्ने फर्मबाट उनको व्यक्तिगत र व्यापारिक दुवै सूचना माग गर्न कानूनी सूचना जारी गर्नसक्ने उल्लेख गरेको थियो।

उक्त फौजदारी अनुसन्धान ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई त्यसलाई गोप्य राख्न दिएका रकमको बिषय जोडिएको बताइन्छ। ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

उन्मुक्ति
उनका वकिलहरूले चाँहि राष्ट्रपति पदमा बाहाल रहेका बेला उनीविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन्।

उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेका छन्।

उनका वकिलहरूले शुक्रबार सर्वोच्च अदालतमा संसदीय समितिले माग गरेका कर फिर्ता सम्बन्धी कागजपत्र हस्तान्तरण गर्न बन्देज लगाउन माग गर्दै अर्को मुद्दा दायर गर्ने ठानिएको छ।

यदी ट्रम्पले कर सम्बन्धी ती कागजात अदालतलाई बुझाउनुपर्‍यो भने पनि उनी त्यसलाई सार्वजनिक गर्न भने बाध्य हुने छैनन्। बीबीसीबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!