फोक्सुण्डो घुम्दै बुलेट राइडरकाे टाेली

- November 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : कर्णालीको पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष–२०२० लाई सफल पार्ने उद्देश्यले सुरु भएको पशुपति–फोक्सुण्डो बुलेट राइडरको टोली शे–फोक्सुण्डो ताल पुगेको छ ।

कठिन यात्रा गर्दै टोली शुक्रबार नेपालकै गहिरो ताल फोक्सुण्डो पुगेको राइडरहरुको भनाइ छ । फोक्सुण्डोसम्म जान मुस्किल भएकाले सदरकुमकाम दुनैमा मोटरसाइकल राखेर टोली फोक्सुण्डोतर्फ गएको हो ।

काठमाडौंदेखि शे–फोक्सुण्डोसम्मको मोटरसाइकल यात्रा यो पहिलो हो । टोली सल्यान, जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पा गएको हो । कर्णालीमा पर्यटकीय सम्भावना भए पनि प्रवद्र्धन हुन नसकेकोले कर्णाली चिनाउन यो यात्रा गरिएको राइडरहरु बताउँछन् ।

काठमाडौंदेखि डोल्पा सदरमुकाम दुनै पुग्न बुलेट राइडरलाई चार दिन लागेको थियो । पहिलो दिन काठमाडौँदेखि दाङ, दोस्रो दिन जाजरकोट, तेस्रो दिन डोल्पाका त्रिपुराकोट र चौथो दिन दुनै बजार पुगेको थियो ।

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको सडक अफरोड छ । बाटोमा पुल नहुँदा केही असहज भएको नास बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । नेपालकै गहिरो ताल शे–फोक्सुन्डो, विश्वकै उच्च मानव बस्ती धो–ताक्सी, २०५२ सालमा नेपालको हो भनेर पत्ता लागेको छार्का भोटको कु–गाउँ, नेपालकै एक मात्र सहरतारामा बोलिने काईके भाषा लगायत अनगिन्ती प्राकृतिक सौन्दर्य भए पनि उचित प्रचार हुन सकेको छैन ।

यस मोटरसाइकल यात्राले केही भए पनि प्रचार प्रसारमा सहयोग पुग्ने नेपाल बुद्धिजिवि परिषद् डोल्पाका अध्यक्ष आङबहादुर लामाले बताए ।अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!