देशमा रेबिज रोग लाग्नेहरुको संख्या बढ्दो, दिनहु सयौ बिरामीहरु टेकु अस्पतालमा

- August 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  ।   रेबिजका कारण उपत्यकामा मात्र बर्सेनि कम्तीमा १७ जनाको ज्यान जाने गरेको छ। कुकुरको टोकाइबाट हुने रेबिजका कारण मृत्युदर घटाउने विषय चुनौती बनेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दिनहुँ डेढ सय व्यक्ति कुकुरको टोकाइविरुद्धको उपचार लिन जाने गरेका छन्। अस्पतालका प्रवक्ता डा। अनुप बाँस्तोला भन्छन्, ‘कहिलेकाहिँ त तीन सय पुग्छन। भ्याक्सिन लगाउन लाइन नै लाग्छ।’

रेबिज लागेपछि उपचार सम्भव हुँदैन। छाडा कुकुरले टोकेको केही घण्टाभित्रै एन्टिरेबिज भ्याक्सिन लगाउँदा अकालमा ज्यान जाँदैन। कुकुरले टोकेपछि हेलचेक्र्याईं गर्ने र भ्याक्सिन नलगाउँदा ज्यान गइरहेको डा। बास्तोला बताउँछन्।

५० वर्ग किलोमिटर क्षेत्रफल रहेको काठमाडौं महानगरपालिका ९कामपा० भित्र कुकुरले लखेट्ने, टोक्ने गरेको छ। कुकुरकै कारण सडक दुर्घटनासमेत हुने गरेको छ। कुकुरले दिनहुँ समस्या निम्त्याएपछि मनुमित्र कार्यक्रम सञ्चालन गरिएको छ। पशु कल्याणको मान्यतामा आधारित भएर कुकुरको दीगो व्यवस्थापन गर्न कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। उनले भने, ‘कुकुरको व्यवस्थापनका लागि पहिला विषादियुक्त मासु खुवाइन्थ्यो। पशुअधिकारकर्मीले विरोध गरेपछि कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउन थालिएको छ।’

कुकुरलाई मानवमित्रका रुपमा लिँदै मनुमित्र कार्यक्रम अघि सारिएको हो। कुकुर बन्ध्याकरण र भ्याक्सिनका लागि जेनगुडअल इन्स्टिच्युटले प्राविधिक सहयोग गरिरहेको छ। इन्स्टिच्युटको एक सर्भेक्षणमा काठमाडौं महानगरपालिका क्षेत्रमा रहेका झण्डै १४ हजार सामुदायिक कुकुरबाट छाउराछाउरी जन्मँदा संख्या बढेको हो। दक्षिणमा रहेको ललितपुर र पूर्वी क्षेत्रमा रहेको भक्तपुरबाट पनि डुलुवा कुकुर थपिने गरेका छन्। मनुमित्र कार्यक्रम सुरु भएको तीन वर्षको अवधिमा ६ हजार ९ सय ३६ वटा कुकुरको बन्ध्याकरण गरिएको कार्यक्रमका सामुदायिक संयोजक बसन्त गौतमले बताए।

काठमाडौं महानगरपालिकाको सबै वडामा पशु व्यवस्थापन समितिसँग समन्वय गरी बध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको छ। अहिलेसम्म महानगरका २७ वटा वडामा ६ हजार ९ सय ३६ वटा कुकुरको बन्ध्याकरण गरिएको संयोजक गौतमले जानकारी दिए। बाँकी रहेका ५ वटा वडामा कुकुरको बन्ध्याकरण र भ्याक्सिन लगाउने योेजना रहेको छ। कार्यक्रम संयोजक संगीता सापकोटाका अनुसार हालसम्म ९ हजार ४ सय ६४ कुकुरले रेबिजविरुद्ध खोप लगाइएको छ।

कुकुर तथा अन्य जनावरको टोकाइबाट सर्ने रेबिज संक्रमणबाट जोगिन बर्सेनि तीस हजारको संख्यामा रेबिज प्रतिरोधि खोप आवश्यक पर्छ। इन्स्टिच्युटले सन् ०१५ मा गरिएको सर्भे अनुसार काठमाडौं महानगरमा मात्रै बन्ध्याकरण नभएका १४ हजार सामुदायिक कुकुर थिए। सामुदायिक र घरपालुवा गरी २१ हजार ८ सय ५६ थियो।

नेपालमा करिब ३० लाख कुकुर रहेको तथ्यांक छ। मुलुकभर कुकुरको टोकाइबाट झण्डै दुई सयको मृत्यु हुने गरेको छ। सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शुन्यमा पु¥याउने दीगो विकास लक्ष्य रहेको छ। शुक्रराज ट्रपिकल अस्पतालका डा। बास्तोला भन्छन,‘ लक्ष्य राखेर मात्र हुँदैन। वेवारिसे कुकुरको घनत्व र रेबिज संक्रमणलाई नियन्त्रण गर्न स्थानीय र केन्द्रीय तहबाट तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ।’ अन्नपूर्णबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!