भीआईपीको रहस्यमय विदेश भ्रमण : देशभित्र प्रतिगमनको हल्लाखल्ला गर्दै !

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, २०७६ साउन १७ गते स्वास्थ्य र आरामका निम्ति भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी ओली २०७६ साउन २७ गते आज स्वदेश फर्किदैछन् ।

सिंगापुरबाट साउन २६ गते नै फर्किने कार्यक्रम तय भएको बताएता पनि नेपाल फिर्तिमा भएको एक दिनको ढिलाईका सम्बन्धमा प्रधानमन्त्री कार्यालय तथा प्रधानमन्त्रीको निजी सचिवालयले कुनै कारण सार्वजनिक गरेको छैन ।

स्वास्थ्य परिक्षण र आरामका निम्ति भनेर प्रधानमन्त्रीको सिंगापुरको १० दिने बसाईलाई यस्तै विभिन्न कारणले रहस्यपूर्ण मान्न थालिएको छ ।

प्रधानमन्त्री ओलीको मृगौलाको उपचार बैककमा भएको सन्दर्भमा थप स्वास्थ्य परिक्षण पनि बैकककै उक्त अस्पतालका सम्बन्धित चिकित्सकहरुबाट हुनुपर्ने थियो भन्ने मत राख्नेहरु स्वास्थ्य परिक्षणका लागि सिंगापुर जानु र सिंगापुरमा प्रम ओलीको भएको स्वास्थ्य परिक्षणका सम्बन्धमा प्रधानमन्त्री कार्यालय तथा प्रधानमन्त्रीको निजी सचिवालयले एक पटक पनि स्वास्थ्य प्रतिवेदन सार्वजनिक नगर्नुले पनि प्रधानमन्त्रीको यो लामो बसाइ र भ्रमणका सम्बन्धमा बुद्धिजीवीहरुबाट विभिन्न आशंका व्यक्त गरिएको छ ।

सरकार प्रमुखको स्वास्थ्य परिक्षणको रिपोर्ट हरेक दिन सार्वजनिक हुनुपर्ने थियो । यसैगरी सिंगापुरमा १० दिनसम्म प्रधानमन्त्री ओलीले कस्तो आराम गरे भन्ने प्रश्न पनि उठेको छ ।

भारतको गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीको सिंगापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहालको दुबई यात्रा तय भएको थियो ।

स्वास्थ्य परिक्षणका लागि सिंगापुर प्रस्थान गर्नु अगाडि प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण छाउनीस्थित सैनिक अस्पतालमा भएको थियो ।

महाराजगंजस्थित टिचिङ अस्पतालमा बेड उपलब्ध नभएकाले सैनिक अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले त्यतिखेर जनाएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य परिक्षणका लागि बेडको अभाव भएको भन्ने भनाईप्रति नेपाली जनताले अहिलेसम्म विश्वास गर्न सकेका छैनन् ।

सैनिक अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य ठीक रहेको प्रतिवेदन दिएपछि स्वास्थ्य परिक्षणकै लागि भनेर सिंगापुर जाने कार्यक्रम तय हुनुलाई पनि रहस्यपूर्ण मानिएको छ ।

भारतको गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री ओलीको सिंगापुर र नेकपा अध्यक्ष दाहालको दुबई यात्रा तय हुनु र प्रधानमनत्री ओली सिंगापुर प्रस्थान गरेको पाँच दिनपछि साउन २४ गते शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह पनि पारिवारिक भ्रमण भन्दै सिंगापुर जानुलाई संयोग मात्र नमानेर प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमणसँगै पूर्वराजा ज्ञानेन्द्रको बैकक भ्रमणलाई पनि रहस्यपूर्ण मानिएको छ ।

यसैगरी पत्नी सीताको इच्छा पूरा गर्न भनेर नेकपा अध्यक्ष दाहालको दुबई भ्रमणलाई पनि यिनै भ्रमणसँग जोडेर हेरिएको छ ।

केही दिन यताबाट सत्तारुढ दल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो हरेक सार्वजनिक भाषणमा प्रतिगामीहरुले परिवर्तन उल्ट्याउन षड्यनत्र गरिराखेको भन्दै तर त्यस्तो षड्यन्त्र सफल नहुने दोहोर्याउँदै आएका छन् ।

त्यस्ता षड्यन्त्रकारीहरुलाई इतिहासले रक्षनमा फालिदिने चेतावनी पनि नेकपा अध्यक्ष दाहालले दिने गरेका छन् ।

प्रतिगामीहरुको षड्यन्त्र सफल हुन सक्दैन भन्ने निष्कर्ष नेकपा अध्यक्ष दाहालको छ भने हरेक सार्वजनिक समारोहमा यति वाक्य उनी किन दोहोर्याउने गरेका छन् भन्ने प्रश्न पनि अहिले सिंगापुर, दुबई र बैकक भ्रमणसँग जोडेर हेर्न थालिएको छ ।

नेकपा अध्यक्ष दाहालले परिवर्तन उल्ट्याउन प्रतिगामी तत्वले षड्यन्त्र गरिराखेको बारम्बार दोहोर्याउँदा यस सम्बन्धमा सत्तारुढ नेकपासँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुले एक शब्द पनि बोलेका छैनन् ।

त्यसकारण प्रतिगमनको भूतले नेकपा अध्यक्ष दाहाललाई मात्र सताउनुलाई पनि रहस्यपूर्ण मानिएको छ । पार्टी अध्यक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्न नसकिराखेको अवस्थामा अध्यक्ष दाहालले प्रतिगमनको भूत देखाएर आफ्नो प्रतिरक्षा गर्न थालेको हुनसक्ने विश्लेषण पनि राजनीतिक क्षेत्रले गरेको छ, साँघुमा उल्लेख छ ।

तथापि प्रधानमन्त्री ओलीसँगै नेकपा अध्यक्ष दाहालको विदेश भ्रमणले नेकपाको राजनीतिमा भने ठूलै संशय जन्माएको छ र यो संशयलाई गम्भीर बनाउने काम प्रधानमन्त्री ओलीको १० दिनसम्मको सिंगापुर बसाईले गरेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!