पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट

- July 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,  श्रीलङ्का भ्रमणमा रहनुभएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको छ ।

उहाँ श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुग्नुभएको थियो ।

बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्का कम्युनिष्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

भेटका अवसरमा नेपाल र श्रीलङ्काबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलङ्काबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवका बारेमा चर्चा गर्नुभएको थियो ।

भेटघाटमा श्रीलङ्कास्थित नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलको सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थान गर्नुभएका वरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!