पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु

- July 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बल्ताल, जम्मु काश्मिर, भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ । वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ ।

अमरनाथ यात्राका लागि यस पटक पनि कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । जम्मु काश्मिरका गभर्नर सत्यपाल मलिकका सल्लाहकार के के शर्माले विधिपूर्वक पूजाआजा गरी तिर्थयात्रीलाई बिदाई गर्नुभएको थियो ।

त्यस अवसरमा शर्माले पत्रकारहरुसँग कुरा गर्दै भारत सरकारका तर्फबाट आफूहरुले पहलगाम र बल्तालको भ्रमण गरेको र सबै तिर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

तिर्थयात्रीहरुलाई उधमपुरको टिक्रीका स्थानीयबासीले स्वागत पनि गरेका थिए । गभर्नर मलिकले हिन्दु तिर्थयात्रीको यात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय मुस्लिम समुदायले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

समुद्र सतहबाट करिब तीन हजार ८८८ मिटर अग्लो स्थानमा रहेको अमरनाथ गुफा हिन्दु धर्मावलम्बीका लागि ज्यादै महत्वपूर्ण धार्मिक स्थल हो ।

अमरनाथ यात्रा हरेक वर्ष श्रावणी मेलाका अवसरमा आयोजना गरिन्छ । वर्षका अधिकांश समय हिउँले ढाक्ने अमरनाथमा यो यात्रा जुलाईमा आरम्भ भएर अगष्टमा समाप्त हुन्छ ।

यो यात्रा अनन्तनाग जिल्लाको ३६ किलोमिटर पहलगाम राजमार्ग तथा गन्डेरवाला जिल्लामा बल्ताल सडक खण्डमा १४ किलोमिटर हुने गर्दछ । यस यात्रामा हरेक वर्ष लाखौं श्रद्धालु सहभागी हुने गर्दछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!