January 22, 2025, 6:58 am
» ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो

गण्डकीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

कार्तिक १४, २०८१ मा प्रकाशित | १२७०दर्शक तीव्रखबर

पोखरा,  । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ ।

कात्तिक १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैकको निर्णय अनुसार उनीहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो ।

सरकारका निर्णय र गतिविधि सार्वजनिक गर्नका लागि आर्थिक मामिला मन्त्री टकराज गुरुङलाई प्रवक्ता तोकिएको छ ।

जेठ १६ गते सुरेन्द्रराज पाण्डे नेतृत्वमा गठित सरकारका प्रवक्ताले अहिलेसम्म एक पटक पनि पत्रकार सम्मेलन गरेका छैनन् । मुख्यमन्त्री पाण्डेले भने २ पटक पत्रकार सम्मेलन गरेका छन् । सरकारको यो निर्णय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत् सार्वजनिक गरिएको छ ।

जसमा जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन मन्त्रीमा नियुक्त भेषबहादुर पौडेल समेतको सम्पति विवरण समावेश गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले मन्त्रीहहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

गण्डकी प्रदेश सरकारले आफैले आचारसंहिता बनाएर मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको थियो । तर आफैले बनाएको आचारसंहिता सरकारले बारम्बार कुल्चिँदै आएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग गोरखासहित, काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पैतृक जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ । त्यसबाहेक ३५ रोपनीभन्दा बढी जग्गा छ ।

काठमाडौं महानगरपालिका ३ मा २ सय १२ वर्गमिटरमा घर छ । भक्तपुर र कपिलवस्तुमा पनि उनको जग्गा छ । मुख्यमन्त्री पाण्डे व्यवसायमा पनि संलग्न छन् ।

दियालो फुडल्यान्ड प्रालिमा उनको ६१ हजार १ सय कित्ता सेयर छ । पत्नी बिना, छोरा सुयोग्य र आफ्नो नाममा गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा १४ हजार कित्ता सेयर छ ।

मुख्यमन्त्री पाण्डेले अघिल्लो कार्यकालमा भन्दा यसपालि ३ तोला सुन बढी देखाएका छन् । पहिला ४२ तोला सुन र ५ सय तोला चाँदी उल्लेख गरेकामा अहिले ४५ तोला सुन र ७ सय तोला चाँदी रहेको उल्लेख गरेका छन् । २ सेट हिरा र १ सेट मोती क्रमश जग्गा बेचेर र तलबबाट किनेको उल्लेख छ ।

व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ६६ हजार मौज्दात छ । पत्नी बिनाको नाममा प्रभु र ग्लोबल आइएमइ बैंकमा ७० लाखभन्दा बढी रकम छ । जुन तलब तथा उपदानको हो । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । जुन बिमा रकम फिर्ताबाट आएको उल्लेख छ ।

अघिल्लो पटक पत्नीका नाममा ६२ लाख रुपैयाँ ऋणमा कार खरिद देखाएका मुख्यमन्त्रीले अहिले ऋण देखाएका छैनन् । पत्नीका नामा मारुती बलेनो कार देखाइएको छ । मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको विवरण यसपालि राखेका छैनन् ।

मुख्यमन्त्री पाण्डेसँग टिभी २, फ्रिज २, वासिङ मेसिन १, डिसवासर १, माइक्रोओभन २, ल्यापटप २ र मोडुलर किचनसहित पूर्ण फर्निसिङ घर छ ।  समाधानबाट ।

प्रतिक्रिया