December 26, 2024, 1:53 am
» ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित » आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने » यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर » गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए

यस्तो छ काठमाडौं उपत्यका प्रवेश गर्ने सडक नाकाको अवस्था, आवागमन क्रमशः सहजतातर्फ

अशोज १५, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका क्रमशः सञ्चालनमा आउन थालेको छ  । यो सँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ ।

धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो आज दिउँसो १ बजेसम्म पूरै हटाउने तयारी भइरहेको छ । यसका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन रोकेर पहिरो पन्छाइने भएको छ ।

त्यसपछि त्यहाँ दुईतर्फी नै सवारी साधन चल्ने भएको छ । त्यसो त हिजो नै त्यहाँ दुईतर्फी सवारी साधन सञ्चालनमा आइसकेको थियो ।  आज १ बजेपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन पूर्णतः सञ्चालन हुने भएको छ ।

यस्तै, पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । भकुन्डेबेसीदेखि नेपालथोक खण्डमा भने धेरै नै समस्या देखिएको छ ।

नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठुला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ ।

दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठुलो क्षति पुर्‍याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।

केही दिनअघिको बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्‍याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो ।

बाढीपहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया