February 24, 2025, 4:31 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सहकारी ठगी प्रकरण : जीबी राईसहित १७ जनाविरुद्ध चितवनमा मुद्दा दायर

अशोज ९, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं । सहकारीको करोडौँ रकम अपचलन गरेर फरार रहेको जीबी राईसहित १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउदेश्यीय सहकारी संस्थाको रकम अपचलनविरुद्ध बुधबार जीबीसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

सहकारीको रकम अपचलन गर्ने मुद्दाको प्रतिवादीहरुमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, कुमार रम्तेल, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

उक्त सहकारीका ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।

मुलुकी फौजदारी संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुर अन्तर्गत मुद्दा दायर गर्दै ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

त्यस्तै उक्त सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको रकमको बारे अनुसन्धान भइरहेको भन्दै पूरक अभियोजन लैजाने बाटो खुला गरिएको छ ।

अभियोग पत्रमा भनिएको छ, ‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ ।’

गोरखा मिडिया नेटवर्कका सञ्चालक समेत रहेका जीबी राईमाथि विभिन्न सहकारी ठगेको आरोप रहेको छ । सहकारीको पैसाबाट ग्यालेक्सी टिभी सञ्चालन गरेका राई सहकारी ठगी काण्ड बाहिर आएपछि फरार रहेका छन् । त्यसो त सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले जीबीसहित रास्वपा सभापति रवि लामिछाने लगायतका व्यक्तिहरुमाथि छानबिन गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया