November 14, 2024, 10:49 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

भदौ २७, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच  कार्यसम्पादन सम्झौता भएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।
अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् ।
प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।
नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने छ ।

प्रतिक्रिया