February 24, 2025, 7:37 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

संवैधानिक निकायमा हामीलाई पनि भागबण्डा गरिनुपर्छ : प्रचण्ड

भदौ २७, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदमा आफ्नो पार्टीले पनि भागबण्डा पाउनुपर्ने माग गरेका छन्। आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा आफ्नोतर्फबाट संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने माग गरेको स्रोतको भनाई छ।

शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल गर्न तीन शीर्ष नेताबीच आज बालुवाटारमा छलफलमा भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा भोलि नै सबै रिक्त संवैधानिक पदमा सिफारिस गर्नुपर्ने माग गरेका छन्। प्रचण्डले बैठकमा संवैधानिक निकायमा सम्भव भए भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने र नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने माग राखेको प्रचण्डको सचिवालयले जनाएको छ।

बुधबार बेलुका पाँच बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको संवैधानिक परिषद्को बैठक प्रचण्ड उपत्यका बाहिर रहेकाले शुक्रबारका लागि सारिएको थियो। नयाँ प्रधानन्यायाधीशलगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको हो।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।
यसैगरी नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्‍मा पठाएको छ। पठाएको नाममाथि छलफल गर्न संवैधानिक परिषद् बैठक बोलाइएको हो।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

प्रतिक्रिया