September 19, 2024, 12:55 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

‘हिंसा’बारे एमाले-माओवादी जुहारीपछि प्रतिनिधिसभा बैठक स्थगित

भदौ २६, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।  बैठक सञ्चालन गर्न सहयोग नगरेको भन्दै सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी कार्यक्रमहरू हटाएर बैठक स्थगित गरेका हुन्।

अब अर्को बैठक भदौ ३० गते दिउँसो १ बजे बस्नेछ।

सभामुख घिमिरेले  नेकपा एमाले सांसद योगेश भट्टराईले केही दिनअघि  संसदमा बोल्दाखेरी प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादी केन्द्रका सांसदहरूले विरोध जनाएका थिए।

सभामुखले छलफलका क्रममा उक्त हिंसा भन्ने शब्द असंसदीय नभएको  निष्कर्ष निस्किएपछि संसदको अभिलेखबाट हटाउन आवश्यक नभएको बताएका थिए।  साथै उनले संसदमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन रुलिङ समेत गराएका थिए। त्यसपछि बैठकमा एमाले र माओवादीका सांसदबीच चर्काचर्की भएको थियो।

सभामुखको रुलिङप्रति माओवादीले आपत्ति जनायो । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको जिकिर गरे। शान्तिप्रक्रिया र कानुनबिपरित शब्द  चयन नगर्न उनले सुझाव दिए।

त्यसपश्चात एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै सभामुखको रुलिङमा प्रश्न उठाउने ठाउँ नरहेको बताए।

पन्तले धारणा राखेपछि माओवादी सांसदहरु थप अन्सन्तुष्ट भएका थिए । उनीहरुले उठेरै हिंसा शब्दप्रति आपत्ती जनाएका थिए । सभामुख घिमिरेले बसेर सभा सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरेपनि दुईपक्षीबीच वादविवाद भएपछि पुनः माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न समय दिइएको थियो । पाण्डेले हिंसा शब्दका विषयमा भएको व्याख्या स्वीकार्य नहुने भन्दै आपत्ति जनाए।

पाण्डेले बोलेपछि समय पाएका  एमाले प्रमुख सचेतक महेश बर्तौलाले हिंसा अन्त्य गर्ने भनेर तत्कालिन समयमा माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेको तर्क गरे। संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको समेत उनले आरोप लगाए।

बैठकमा सभामुख घिमिरेले बहसले निष्कर्ष निस्कन नसक्ने भएकाले आसन ग्रहण गरेर नियमित ढंगले अघि बढाउन आग्रह गरेपनि माओवादी सांसदहरूले हिंसा शब्दको प्रतिवाद गरिरहे । आफूले पटकपटक आग्रह गर्दा पनि सभासञ्चालनका लागि सहयोग नभएको भन्दै सभामुख घिमिरेले बैठक स्थगित गरे।

संसद  बैठकमा  एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै संसदको अभिलेखबाट हटाउन माओवादी केन्द्रका सांसद हितराज पाण्डेलगायतले माग गरेका थिए।

प्रतिक्रिया