September 19, 2024, 12:55 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

माओवादी संकटको घेरामा : कांग्रेस-एमाले एक, उपचुनावमा सबैको चासो

भदौ २५, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

भक्तपुर,  । धेर बाठो हुँदा सत्ताबाट चिप्लिनु परेको नेकपा (माओवादी केन्द्र) अहिले संकटको घेरामा परेको छ । सो दलका अध्यक्ष पुष्पकमल दाहाल धेरै बाठो हुँदा तथा अरुलाई खेलाउने कार्यमा मात्र तल्लीन हुँदा उनी सत्ताबाट बाहिर पुगेका छन् ।

उनकै कारण माओवादी केन्द्र संघमा मात्र नभई प्रदेशमा समेत प्रमुख प्रतिपक्षी दलको अवस्थामा पुगेको छ । दाहालले खेलाउँदै लाभ लिंदै गरेका नेपाली कांग्रेस र नेकपा (एमाले) भने अहिले सत्तामा रहेका छन् ।

सरकार छोड्नु परेको पीडामा रहेका दाहाल आफ्नै दलको आन्तरिक समस्यामा समेत जेलिएका छन् । शान्ति प्रक्रियामा आएदेखि प्रायः सधैं सत्ताको वरिपरी रहने गरेको माओवादी केन्द्र पछिल्लो समय समस्यामा परिरहेको छ ।

सांगठानिक अवस्था निक्कै नै कमजोर रहेको भनिने उक्त दल आफू एक्लैको भरमा सत्ता राजनीतिमा केही गर्न नसक्ने अवस्थामा पुगेको बताइन्छ ।

आफ्नो दलले प्रतिनिधिसभामा ल्याएको ३२ सिटलाई ‘म्याजिक नम्बर’ भन्दै कांग्रेस र एमालेलाई जुधाएर आफूले फाइदा लिंदै आएका दाहाललाई कांग्रेस र एमाले नै ‘सरप्राइज’ दिंदै कुनामा पु¥याई दिएका छन् ।

माओवादी केन्द्रमा देखिएको आन्तरिक समस्यालाई समेत अध्यक्ष दाहालले चिर्न सकेका छैनन् । उनले जनार्दन शर्मा लगायतको चुनौतीलाई सामना गर्न गाह्रो अवस्था देखिएको छ ।

दाहालले दलको आन्तरिक बैठकमा शर्मा लगायतबाट धेरै खप्की खानु परेको थियो । नेतृत्वमाथि प्रश्न उठाउने प्रयास शर्मा लगायतले गरेका थिए । एकछत्र रुपमा दल हाँक्दै आएका दाहालले सत्तासँगै आफ्नो दल भित्रको वर्चश्व समेत गुमाउँदै गएको अवस्था आएको छ ।

पछिल्लो समयमा अबका दिनमा हुने निर्वाचनमा आफ्नो साख कसरी जोगाउने भन्ने चिन्तामा माओवादी केन्द्र रहन पुगेको विश्लेषण गरिँदै आएको छ ।

आगामी मंसिरमा हुने भनिएको उपनिर्वाचनमा कांग्रेस र एमालेले कसैसँग गठबन्धन नगरी निर्वाचनमा होमिने भनेको अवस्थामा माओवादी केन्द्र सोचमग्न बनेको हो ।

माओवादी केन्द्र एक्लै निर्वाचनमा जाँदा राम्रो परिणाम नआउने भन्ने कुरामा सो दलका नेताहरु सचेत रहेका छन् । सोही अवस्थालाई बुझेर अध्यक्ष दाहालले सकेसम्म कम्युनिष्ट एकता नभए समाजवादी मोर्चाको कुरालाई उठाउँदै आएका छन् ।

दाहालले खासगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कुरा गरी पार्टी एकीकरणको कुरा गर्दै आएका छन् । माओवादी केन्द्रको बैठक चलेको बेलामा त उनले एकीकरण घोषणा मात्रै हुन बाँकी भनी भनेका थिए ।

यो विषयलाई लिएर एकीकृत समाजवादीका नेताहरुले आपत्ति प्रकट गरेका थिए । त्यसपछि दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउन खोजेका थिए ।

कांग्रेसको हालैको बैठकले उपनिर्वाचनमा मात्रै होइन कि आगामी २०८४ मा हुने आमचुनावमा समेत कसैसँग गठबन्धन नगर्ने सोच बनाएको छ । यसैगरी एमालेको पोलिटब्युरो बैठकमा समेत यो विषयले चर्चा पाएको थियो ।

एमालेले पनि आगामी उपनिर्वाचनमा आफ्नो दल एक्लै लड्नेमात्र होइन कि अन्य दलहरु पनि एक्लाएक्लै भिड्ने वातावरण बनाउने भनी सहमति गरेको अवस्था छ । कांग्रेस र एमालेको यस्तो निर्णयमा मारमा माओवादी केन्द्र परेको बताइन्छ ।

अरुको सहाराविना निर्वाचनमा परिणाम निकाल्न नसक्ने अवस्थामा रहेको भनी माओवादी केन्द्रका बारेमा आंकलन गरिँदै आएको छ ।

विगतका निर्वाचन परिणामलाई हेर्दा पनि त्यस्तै चित्रण देखिएकाले माओवादी केन्द्रका नेताहरु कसरी साख जोगाउन सकिएला भनी सोचमग्न देखिएका छन् ।

यसैबीच आगामी दिनमा हुने उपनिर्वाचनलाई लिएर अहिलेदेखि नै दलहरुमा चासो देखिएको छ । उक्त उपनिर्वाचनमा खासगरी सत्तारुढ दलहरु कांग्रेस र एमालेले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था देखिएको छ ।

यसैगरी उक्त निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, तराई केन्द्रित दलहरु के कसरी प्रस्तुत हुने हुन् भन्ने कुरालाई पनि चासोका साथ हेरिँदै आएको नयाँ विमर्शमा खबर छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा कस्तो रणनीति अपनाउला, उसले स्थानीय निर्वाचनमा भाग लेला कि नलेला जस्ता विषय पनि अहिले चर्चा रहेका छन् ।

यसैगरी उक्त उपनिर्वाचनको निर्वाचन परिणाम कस्तो आउला, त्यसलाई दलहरुले कसरी लेलान् अनि त्यो निर्वाचन परिणामका कारण सत्ता गठबन्धनलाई कस्तो असर पार्ला भन्नेसम्मका कुरा अहिलेदेखि नै छलफलका विषय बनेका छन् ।

 

प्रतिक्रिया