जसले हालसम्म २२ सयभन्दा बढी बेवारिस लासको सद्गद् गरिसकेका छन् । बेवारिस लास जलाउने पैसा नहुँदा सहकारीको चर्काे ब्याजको ऋृण, आफैँले चढिरहेको बाइक कैयौंपटक धरौटीमा राखेका छन् । घर नै बैंकमा धितो राखेर ऋण लिएर बेवारिस लासको सद्गद् गर्ने काम गर्दै आइरहेका छन् तर केही सहयोग गरेजस्तो गरेर ३० वर्षदेखि बेवारिस लासको सद्गद् आफैँले गरिरहेको दुस्प्रचार गरिरहेका छन्, अहिले जगदीश वैद्यले ।
यसअघि विनयजंग बस्नेतको जीवनमा यस्तै एउटा हुण्डरी आयो । दुव्र्यसनीमा डुबेकी सपना रोकामगरलाई उनका बुवाआमाले रिह्याबमा राखेर सुधार्न विनयजंगको जिम्मा लगाएर पठाउनुभएको थियो । रिह्याब सेन्टरमा लैजाँदा सञ्चालकहरूले ‘विनय दाइ अब तपाईं आफैँ रिह्याब सेन्टर भइसक्नुभयो’ भन्ने जवाफ दिएपछि आफ्नै साथमा राखेर सपनालाई सुधार्नुभयो । आफू सँगसँगै बेवारिस लासको सद्गद् गर्ने काममा अगाडि बढाउनुभयो । बिबिसीको प्रभावशाली १०० महिलाको सूचीमा उनै सपनाको नाम फारममा भरिदिनुभयो । जब बिबिसीको प्रभावशाली महिलाको सूचीमा सपनाको नाम आयो, अनि शुरु भयो विनयसँग दुस्मनी । छोरीको रुपमा माया दिएर राखेकी सपनाले विनयलाई प्रहरी हिरासतमा पुर्याइन् । मेरो शेखपछि बेवारिसको दागबत्ती तिमीले नै दिनुपर्छ, मेरो दागबत्ती दिने पनि तिमी नै हौ भन्नुभएको थियो तर उनको छलछामले विनयजंग २४ दिन टेकु प्रहरीको हिरासतमा पुग्नुभयो ।
केही मान्छे चाहन्थे, विनयजंग फेरि बिग्रियोस्, पत्रु होस्, पुन दुव्र्यसनीमा लागोस् । नखाएको विष लाग्दा फेरि उहाँ दुव्र्यसनीमै फर्कन सक्ने अवस्था थियो । उहाँलाई त्यो डिलबाट बचाउनु थियो । विनयजंग सबैलाई आँखा चिम्लेर विश्वास गर्ने व्यक्ति । आफूलाई भन्दा बढी विश्वास सपनालाई गर्नुभयो । सोही परिणाम दुश्चक्रीको जालमा उहाँ पर्नुभयो तर नखाएको विष केही गरे पनि लाग्दैन । पिता समानको विनयलाई फसाएपछि आज सपनाहरू कहाँ छन्, बेवारिस लासको तस्बिर देखाएर कहाँ–कहाँबाट कति रकम झारिन्, त्यो रकमले अहिलेसम्म कति बेवारिस लासको सद्गद् गरिन्, कसैले खोजे हुने हो तर कसैलाई फुर्सद छैन तर यो घटनापछि पनि बिचलित नभई हामी बेवारिस लासको सद्गद् गरिरहेका छौँ ।
०७५ सालमा एसईई पार लगाएपछि कुलेश्वर जनमैत्री क्याम्पसमा पत्रकारिता विषय लिएर पढ्न थालेँ । मलाई यहाँसम्म ल्याउने कलावती गिरी, उहाँकी बहिनी र परिवारप्रति सदा आभारी छु । जे सिकेँ, जानेँ, त्यही गरेँ । आन्टीको घर छाडेर धादिङको साथी मीना विश्वकर्मा, जसको घर नैकापमा थियो, त्यहाँ बसेर पढ्न थालेँ । नैकापदेखि कुलेश्वरसम्म हिँडेर गएको दिन कहिल्यै बिर्सन्न । अतिरिक्त क्रियाकलापमा अगाडि थिएँ । कक्षा १२ को फेयरवेल कार्यक्रममा उद्घोषणको जिम्मेवारी मेरो काँधमा थियो । अतिथिका रुपमा आमन्त्रण गरिएको थियो– लेखान्त भुसाल ‘घिरौले’ । मेरो उद्घोषण देखेर उहाँ प्रभावित हुनुभएछ । मिलिजुली युट्युबमा काम लगाइदिनुभयो । पारिश्रमिक थियो– १० हजार । मजस्तो गरिब र टुहुरी केटीका लागि १० हजार धेरै ठूलो भयो । त्यसपछि मेरो मन पढाइतिर कम र मिडियातिर धेरै जान थाल्यो । मिडियाको लत यस्तो थियो कि केही गरेर देखाउने प्रण लिएकी थिएँ । उक्त युट्युब राम्रो चलेन । त्यसपछि म थाहा अनलाइनमा आबद्ध भएँ । तलब २ हजार बढी अर्थात् १२ हजार तोकिएको थियो तर साहुहरूका लागि ९० दिन पुग्दा पनि महिनादिन नहुने रहेछ ।
यद्यपि, १२ को परीक्षा नदिई सिन्धुपाल्चोकको चौतारामा जातीय विभेदको घटनामा कुटाकुट भएको विषयमा रिपोर्टिङ गर्न पुगेँ । रिपोर्टिङका लागि परीक्षा छाडेँ, अहिले पछुतो लाग्छ । त्यस समयमा म होस्टलमा बस्थेँ । तलब १२ हजार थियो, आठ हजार होस्टलमा तिर्नुपथ्र्याे । एउटा मिडिया छाड्दै फेरि अर्काे मिडियामा जोडिएँ । त्यस समय रंगिन टिभीमा आबद्ध थिएँ । पारिश्रमिकको समस्या उस्तै थियो । वसन्तपुरको मन्दिरछेउमा ६ वर्षकी अबोध बच्चाले आमाको उपचार खर्च जुटाउन पानी बेचिरहेको विषयमा रिपोर्टिङ गरें । उक्त रिपोर्टिङपछि उहाँलाई राम्रै सहयोग जुट्यो ।
महँगो काठमाडौंमा टिक्न गाह्रो भएपछि म पुनः तराई झरेँ । कोहलपुरमा रहेको रेडियो प्रतिबोधमा कार्यक्रम सञ्चालन गर्थें, ६ हजार तलब आउँथ्यो । त्यही समयमा विनयजंगले बेवारिस लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा नेपालगञ्जमा खोल्नुपर्यो भन्नुभयो । उहाँसँग काठमाडौंमा मिडियामा काम गर्दा चिनजान भएको थियो । पहिलो पटक भेरी अस्पतालमा कुहिएको लास हेर्न गएँ । ती लास टाटा गाडीमा हालेर कोहलपुर नजिकै मानखोलामा लगेर दागबत्ती दियौँ । कहिल्यै लास नछोएको मैले लास डढाएँ । खल्तीमा पैसा नभए पनि बेवारिस लास सद्गद् गरेको दिन अभूतपूर्व आनन्द मिल्यो ।
विनयजंग हुनेखानेको छोरा, काठमाडौं टीकाथलीमा जन्मनुभएको उहाँका बुवा महालेखाको जागिरे । १५ वर्षकै उमेरमा आमा गुमाउनुभयो । २० वर्षको हुँदा इमाडोलको केटीसँग विवाह गर्नुभयो, छोरी अहिले अष्ट्रेलियामा छिन् । ‘संसर्गजा दोषगुणाः भवन्ति’ भनेझैँ संगत गुणाको फल त मिल्ने नै भयो । कुलतमा डुबेपछि श्रीमतीले लाखौँ कोसिसका बाबजुद पनि सुधार्न सक्नु भएन र माइती गएर बस्नुभयो । बुवा आमाका लागि सबैभन्दा खुशी र आनन्द सन्तान सही बाटोमा हिँडे लाग्ने हो । छोरा बिग्रिएको, घर भाँडिएको देख्दा बुवाको मन भाँडियो सायद । एकाबिहानै इमाडोलबाट साथीको घर लाजिम्पाट जानुभएका उहाँ कहिल्यै नफर्कने गरी अस्ताउनुभयो । गाडीको ठक्करबाट ज्यान गएको उहाँको शव त्रिवि शिक्षण अस्पतालमा बेवारिस लासको चाङमा देखेँ । त्यहाँ सयौं लास बेवारिस थिए । त्यही पछि क्लिक भएपछि विनयजंगले बेवारिस लास व्यवस्थापनमा काम गर्ने अठोट गर्नुभयो । जब उहाँ बेवारिस लासको सद्गद् गरेर घर फर्कनुहुन्थ्यो, टोलका मान्छे पागलको संज्ञा दिन्थे । बेवारिस लास छोएर आएको मान्छे भनेर घरभित्र छिर्न दिँदैनथे । छिछि र दुरदुर गर्थे । उहाँकै प्रेरणाले म पनि बेवारिस लास सद्गद् गर्ने क्रममा जोडिएँ ।
भनिन्छ, जन्म, मृत्यु र विवाह पूर्व निर्धारित हुन्छ । समाजले दलितको ट्याग लगाएको एउटा महिला, बाल्यकाल अरुको घरमा जुठो भाँडा माझेर हुर्किएँ, बढेँ, पढेँ । बुवाले १२ वर्षकै हुँदा छाड्नुभयो । आमाले दोस्रो रोज्नुभयो । म आफैँ पनि बेवारिसझैँ थिएँ । उहाँसँगै थुप्रै लास जलाएँ । मैले के काम गरिरहेको छु मलाई नै थाहा थिएन तर आत्मालाई खुशी मिलिरहेको थियो । जिन्दगीमा कहिल्यै पैसा भएन । सधैँ दुःख र अभावमा हुर्किएकी मान्छे म । उहाँसँगको सामीप्यपछि संघर्ष गरेर बाँचिरहेकी थिएँ । मसँग के नै बाँकी थियो र ? उहाँले घर, जग्गा नै फाइनान्समा राखेर बेवारिस लास जलाएर हिँड्नुभएको थियो ।
यही बीचमा सपना रोकाको फण्डा आयो । उहाँमाथि मात्र होइन, मलाई पनि हिलो छ्यापियो । निःस्वार्थ ढंगले सेवा गर्दागर्दै हामी दुवैमाथि दाग लागेको स्थिति थियो । यस्तैमा ०७८ साल दसैँको अष्टमीमा गुहेश्वरी मन्दिरमा पुगेर हामी एक अर्काेको भयौँ । मसँग विवाह गर्नुअघि उहाँले सात सयभन्दा बढी बेवारिस लासको सद्गद् गर्नुभएको थियो । अहिले केन्द्रको ५२ जिल्लामा शाखा छन् । केन्द्रले २२ सयभन्दा बढी बेवारिस लासको सद्गद् गरिसकेको छ । पेटमा बच्चा हुर्कंदै थियो । डाक्टरले बच्चा जन्मने मिति दिएको अघिल्लो दिनसम्म पशुपति आर्यघाटमा बेवारिस लासको सद्गद् गरेकी थिएँ । काखे बच्चालाई च्यापेर सयौं लासको सद्गद् गरिसकेको छु । तर, हाम्रो जीवनमा कहिले सपनाजस्ता पात्र आउँछन् र पाठ सिकाएर जान्छन् । कहिले जेभी फाउण्डेसनका जगदीश वैद्यहरू केही सहयोग बोकेर आउँछन् र आफ्नै प्रचार गर्छन् ।
यस्ता दृश्य देख्दा र भोग्दा मन छियाछिया हुन्छ । बिचलित हुन्छौँ । आजसम्म संस्थाको नाममा एउटा बैंक खाता छैन । बेवारिस लासका लागि काम गरेको १२ वर्षपछि पहिलो पटक सरकारी तवरबाट काठमाडौँ महानगरपालिकाले ३ लाख सहयोग दिएको थियो । बैंक खाता नहुँदा ढुस हुन पुगेको छ तर यही बेवारिस लासको फोटो देखाएर केही लुट्न र ठग्न पल्किएकाहरू रकम उठाएर आफ्नो चुलो बाल्दै आएका छन् । यस्तो देख्दा विरक्त लाग्छ । यो शरीरमा एक मुठी सास र तातो रगत रहुञ्जेल बेवारिसहरूकै हितमा काम गर्ने प्रण लिएका छौँ, विनयजंग र मैले । बेवारिसका नाममा ठगी धन्दा चलाउने ‘पानीका फोका’हरूलाई सबैले समयमै चिन्नुहोला । जेभी फाउण्डेस र सपना रोकाका कारण हामी पछुताएझैँ यहाँहरू पनि पछुताउनु नपरोस् । यही आग्रह, यति अनुनय !
– पूजा बस्नेत, बेवारिस व्यवस्थापन तथा पुनर्जीवन केन्द्र
(साभार:जनआस्था साप्ताहिकबाट)
प्रतिक्रिया