September 16, 2024, 7:14 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

लोकतान्त्रिक व्यवस्था जोगाउन मुख्य प्रतिस्पर्धी कांग्रेस-एमाले मिल्यौँ : देउवा

भदौ १९, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी सरकार बनाउन नेकपा एमालेसँग मिल्नुपरेको बताएका छन् ।

उनले स्थायी सरकारकै लागि गत असार १७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको पनि बताएका छन् ।

पार्टीनिकट नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधनका क्रममा देउवाले देशले स्थायित्व खोजेकाले दुई ठूला पार्टी मिलेको पनि ब्याख्या गरे ।

देउवाले कर्मचारीले जुन दलप्रति आस्था राखे पनि सरकारको निर्देशन मानेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

देउवाले कांग्रेस र एमालेबीच विगतमा अनेकम मतभेद रहेको स्वीकार्दै तर लोकतान्त्रिक व्यवस्था बचाउने कुरामा मिल्नुपरेको पनि प्रष्टीकरण दिए ।

‘कांग्रेस र एमालेबीच विगतमा मतभेद थिए, अहिले पनि केही होलान् । तर हामी अहिलेको व्यवस्था बचाउने कुरामा एक ठाउँमा छौँ, यसमा दुई दलबीच कुनै मतभिन्नता छैन’, उनले भने, ‘कांग्रेस‍-एमाले मुख्य प्रतिस्पर्धी रहेको कुरामा कुनै शंका छैन । तर देशका समस्याहरू हामी दुई दल मिलेर समाधान गर्दै अघि बढ्छौँ ।’

उनले आफू र ओली मिलेपछि देशका जुनसुकै समस्या समाधान गर्न सक्ने पनि बताए । ‘ओलीजी र म मिलेर देशका हरेक समस्याको समाधान गर्छौँ’, उनले भने, ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुछ, यसको रक्षा गर्नुछ । नेपाली जनताले खोजेको पनि देशमा स्थायित्व र स्थायी सरकार हो । त्यसकै लागि कांग्रेस र एमाले एक ठाउँ भएका हौँ ।’

देउवाले कर्मचारीहरूलाई जो जहाँ जुन दलमा आस्था राख्ने भए पनि सरकारको निर्देशन मान्नुपर्ने दोहोर्‍याए । उनले जुन दलसँग आस्था राखे पनि कर्मचारीहरूले सरकारको निर्देशन मानेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया