February 24, 2025, 7:04 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

विष्णुमती नदीले खतराको तह नाघ्यो

भदौ १८, २०८१ मा प्रकाशित | ११६०दर्शक तीव्रखबर

काठमाडौं– विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ ।

‘काठमाण्डौँ जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले उच्च सतर्कता अपनाऔँ’, सूचनामा लेखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकालगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । विभागका मौसमविद् प्रतिभा मानन्धरले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जानकारी दिइन्‌ ।

उनले हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमवर्षा भइरहेको बताइन्‌ । काठमाडौँ उपत्यकाको गोङ्गबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा आज वर्षा भएको थियो ।

नेपाल बाढी सूचनामा जनाइएअनुसार आज बिहान गौरीघाट जल मापन केन्द्रमा बागमती नदी सतर्कता तह आसपास आइपुगेको थियो । आजै साँझ सिन्धुलीस्थित कमला नदी पनि सतर्कता तह आसपास आइपुगेकाले सावधानी अपनाउन सूचना जारी भएको थियो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आजराति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तै भोलि पनि कोशी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको मौसमविद् मानन्धरले बताइन्‌ ।

प्रतिक्रिया