September 19, 2024, 9:44 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

बालेन्द्रलाई सुनिताले कार्यपालिका बैठकमै भनिन्- जनता घेर्न आउन थाले, कार्यशैली सुधारौँ

भदौ १८, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् ।

बुधबार बसेको ३५ औँ कार्यपालिका बैठकलाई सम्बोधनका क्रममा उपमेयर डंगोलले महानगरको नेतृत्वको भूमिका र कार्यशैलीका कारण जनता आतंकित भएको बताइन् ।

‘अहिले जनता एकदमै आतंकित भएको, त्रसित भएको महसुस गरेका छौँ । हिजो मात्रै जनता महानगरको कार्यालयमा घेर्न आएका थिए । अहिले वडाहरूका कार्यालय जनताले घेर्न थालेका छन्’, उनले भनिन्, ‘सम्मानित अदालतले गरेको आदेशलाई हामीले सम्मान गर्नुपर्छ । सम्मान गर्ने क्रममा, कार्यान्वयन गर्ने क्रममा कसरी जाने भन्ने हेक्का राख्नुपर्छ । हामीले जनतालाई कुनै माध्यमबाट सुसूचित गर्ने कुरामा पनि कसरी लेखिएको छ भन्ने महत्वपूर्ण हुन्छ । एउटा शब्दमै खेल्ने कुरा धेरै हुन्छ । प्रमुखस्तरीय निर्णयअुनसार सूचना प्रकाशित गरिएको भनिएको छ। तर महानगरको निर्णय हो कि होइन भन्ने हेक्का राखौँ ।’

उनले महानगरका कुनै पनि निर्णय संवेदनशील हुने र जनतासँग, उनीहरूका भावनासँग जोडिएका हुनेतर्फ मेयर साहलाई सचेत गराएकी छन् ।

महानरमा सानोभन्दा सानो कुरामा छलफल हुन्छ भने यस्तो संवेदनशील विषयमा थाहा नपाउने हुनु भएन । हामीले सूचनाबाट थाहा पाउने भन्ने कुरा ठीक होइन । हामीले क्षतिलाई कसरी काम गर्न सकिन्छ भन्ने पनि सोचौँ’, उनले भनिन्, ‘अदालतले गरेको निर्णय सदैव जनतको हितमा हुन्छ भन्ने पनि छैन । एउटा निर्णय भएको छ भने हामी पुनरावलकोनमा जानुपर्छ । यस्ता गम्भीर इस्युमा जनता सडकमा आइसकेपछि त्यसलाई डिफेन्स गर्ने होइन । पहिले नै जनतालाई सुसूचित गरौँ, हामीबीच बढी भन्दा बढी सहकार्य र छलफल हुनु आवश्यक छ। यदि त्यसो नहुने हो भने समस्या हुन्छ।’

उनले जनभावनाविरुद्ध महानगरको नेतृत्व गएको भनेर जनताले बुझ्न थालेका पनि बताइन् । ‘यो निर्णय मेरो पनि हो भनेर हामी हरेकले अपनत्व लिन छलफल हुनुपर्छ । पहिले नै थाहा हुनसके हामीले जनतालाई बुझाउनुपर्छ । यस्तो संवेदनशील विषयमा आफूखुसी निर्णय नगरौँ’, उनले भनिन्, ‘अरुलाई मात्रै यो गल्ती भएको छ भनेर सुधार भन्ने कि आफू पनि सुशासनको बाटोमा लाग्ने ?’

उपमेयर डंगोलले बजारमा आर्थिक ऐन आइसकेपछि गलत सूचना जान थालेकोतर्फ पनि ध्यानाकर्षण गराइन् । ‘अहिले हामीलाई वडामा गाह्रो भएको छ भन्न थालेका छन् । राजस्व समितिले बसेर निर्णय गरिसकेपछि प्रमाणीकरणका लागि पठाइसकेछि, सम्पत्ति कर कसरी लिने भनेर पठाइसकेपछि विवरण फेरिएर आउँदा हामी आफैं सरप्राइज हुनुपर्ने अवस्थाको जिम्मेवार को हुने ? वेबसाइटमा पठाइएको ड्राफ्टमा फरक हुन्छ भने छलफल हुनुपर्छ कि पर्दैन ?’

उनले महानगरका निर्णयहरू हतारमा गरेर फुर्सदमा पछुताउने अवस्था आउन नदिने बताएकी छन् । यदि महानगरको नेतृत्वले आफूखुसी निर्णय गर्ने हो भने आफूले त्यसलाई नमान्ने पनि बताएकी छन् ।

प्रतिक्रिया