February 23, 2025, 8:29 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

भदौ १२, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौं : अवैधरूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ।

उनीहरू सबै जना सकुशल रहेका र आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ। विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै दूतावासले नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ।

दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैधरूपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ। संगठित रूपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ। कैयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ।

‘यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ।’

मानव तस्करको सञ्जाल प्रयोगगरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया