January 22, 2025, 9:58 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

ठुला खेलाडीले साना लगानीकर्तालाई धोका दिने खतरा सेयर बजारमा बढ्यो जेखिम

भदौ ५, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

काठमाडौं । मुलुकको पुँजी बजार २०८१ असार १७ गते यता निरन्तर बढेर नयाँ उचाईं चुमिरहेको छ । ३२ सयको यसअघिको पुरानो नेप्से रेकर्डलाई चाडै तोडेर अगाडि बढ्ने संकेत देखा परेको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थ मन्त्री कार्यभार सम्हालेपछि बजार दिन प्रतिदिन उच्च अंकले बढ्दा तीन वर्षदेखि घाटा सहँदै आएका लाखौंलाख लगानीकर्ताहरू निकै उत्साहित भएका छन् । यद्यपि, सेयर बजार भने करेक्सन हुँदै बढ्दै गइरहेको छ । बजारले नयाँ उचाइ कायम गर्नेक्रममा सामान्य अंकको करेक्सन भएर शक्ति संचित भएको लगानीकर्ताहरुको बुझाई रहेको छ । यही कारण यतिखेर लगानीकर्ताहरु उत्साहित हुँदै सेयर बजारमा लगानी गरिरहेको बताइन्छ ।

खासगरी प्रतिनिधिसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस पछिल्लो मिलेर सरकार गठन गरेसँगै सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । बैंकको निक्षेपमा ब्याजदर घटेको छ, लगानीकर्ताहरूका लागि सुरक्षित लगानी गर्ने अर्को भरपर्दो कुनै क्षेत्र छैन । त्यही भएर सानादेखि ठुला लगानीकर्ताहरूसम्मले सेयर बजारमै लगानी गरेर मुनाफा आर्जन गर्ने उद्देश्य लिएका छन् । नेप्से डेढ महिनामा नै ९ सय भन्दा बढी अंकले बढेको छ । अझ दैनिक कारोवार एक–डेढ अर्बबाट बढेर रु. ३० अर्ब (२०८१ साउन ३१ गते रु. २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार)को हाराहारीमा पुगेको छ । सेयर बजारका लगानीकर्ताहरूका लागि यो अति राम्रो अवस्था रहेको उनीहरु बताउँछन् ।

लगानीकर्ताहरु एकपछि अर्को नाफा सुरक्षित गर्दै बढ्न थालेपछि सेयर मूल्य बढ्न बाँकी भएका कम्पनीमा लगानी बढाउने रणनीति लिएको देखिन्छ । दिनदिनै सेयर मूल्यमा उच्च अंकको वृद्धि हुँदा मूल्य घट्छ भन्ने नै लगानीकर्तालाई लाग्न छाडेको अवस्था आएको छ । यो बेलामा लगानीकर्ताले स्टकलाई नभएर आफ्नो लगानीलाई माया गर्नुपर्ने बताइन्छ । यसरी नै बढ्दै गएर ३÷४ महिनामै पुँजी बजार ४६ सय अंक पुग्ने चर्चा पनि भइरहेको छ । जसले गर्दा लगानीकर्ताहरू मन फुकाएर सेयर बजारमा लगानी गरिरहेका छन् ।

बजार संकुचनको फाइदा पुँजी बजारलाई
बजार संकुचन हुँदा लगानी गर्ने ठाउँ छैन । त्यही भएर साना–ठुला लगानीकर्ताहरू सबैको ध्यान यतिखेर सेयर बजारमै केन्द्रित हुँदै आएको छ । लगानीकर्ताहरुले जुवा कै खाल झै लगानी गरिरहेका छन् । ठुलो सेयरमा लगानी गर्ने संस्थागत कम्पनीहरूलाई २० करोड रूपैयाँ ऋण(क्याप)को सीमा नेपाल राष्ट्र बैंकले हटाएको छ । नयाँ मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैकले पुरानो व्यवस्था हटाएर ठुला संस्थागत लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो । त्यसपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेर नेप्से र दैनिक कारोवार रकम पनि निकै बढेको छ । कतिपयले कालो धन पनि सेयर बजारमा लगानी भइरहेको आशंका पनि गरिदैछ ।

कालो धन हुण्डीमार्फत विदेशतिर जाने र फेरि हुण्डी रेमिट्यान्सका रूपमा नेपाल भित्रिएर सेयरमा लगानी भैरहेको आशंका गरिएको छ । यसरी अवैध धन पनि सेयरमा लगानी भएकाले पनि  नेपालको सेयर बजारमा उछाल आएको चर्चा चल्ने गरेको छ । जसका कारण सेयर बजार हल्का करेक्सन हुँदै २०८१ भदौ महिनाभर बढी रहने अनुमान जानकारहरुले गरेका छन् । ३७÷३८ सयको रेसियो माथि पुगेपछि भने स्थिर रहने सेयर बजारमा चर्चा चुलिएको छ । त्यही भएर अहिले धन्दाधुन्द लगानी खनिएको स्रोतको दावी रहेको छ । सेयर बजारको विश्लेषण नगरी हल्लाको पछि लाग्ने र अन्तिम समयमा सेयर खरिद गरेर फेरि मूल्य बढ्छ भनेर लोभ गरेर पर्खिनेहरू भने २०८१ मंसिरपछि धक्का खाने खतरा रहेको जानकारहरू बताउछन् ।

खराब कम्पनीको मूल्य किन बढ्यो ?
जुन कम्पनीले गतवर्ष मुनाफा कम आर्जन गरेको र सेयर बुक भ्यालु रकम कम भएकाहरुको समेत मूल्य बढेको देखिन्छ । त्यस्ता कम्पनीहरुको सेयर मूल्य अस्वाभाविक रूपमा बढिरहेकोले यसले सेयर बजारका ठुला दुई–चार दर्जन खेलाडीहरूले अस्वाभाविक रूपमा मूल्य बढाउने खेल हुन थालेको चर्चा पनि चलेको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत, होटल, माइक्रो फाइनान्स, उत्पादनमूलक उद्योगको सेयर मूल्य निरन्तर बढेको छ । बैंकिङ क्षेत्रका २० वटा ‘क’ वर्गका बैंकहरू मध्ये १० वटाले मुनाफा दिने भएका छन । बाँकी १० वटाले यसपटक पनि मुनाफा दिनसक्ने अवस्थामा देखिंदैन । तर, जुन बैंकले नाफा दिन सक्दैनन्, तिनै बैंकको सेयर मूल्य निरन्तर कसरी बढिरहेको छ भन्ने प्रश्न पनि उठ्दैछ ।

पछिल्लो डेढ महिनाको अवधिमा गएको २०८१ असार १७ पछि २ हजार बिन्दु भन्दा तल रहेको नेप्से परिसूचक पछिल्लो डेढ महिनामा मै करिब ९ सय अंकले बढेको छ । सरकारले सेयर बजारलाई सन्तुलित र मर्यादित ढंगले अघि बढाउन, बजारका समस्या सुन्न र समाधान गर्न चाहेकाले पनि लगानीकर्ता उत्साहित भएको चर्चा बाहिर आएको छ । तर, उच्च अंकले सेयर बजार उकालो लाग्नेक्रम साउन ३१ गतेसम्म पनि निरन्तरता पाएको छ ।

२७ महिनाकै उच्च बिन्दुमा
नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, २०८१ साउन ३१ गते कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । यसअघि ०७८ चैत अन्तिम साता नेप्से २ हजार ४ सय २० अंक नजिक रहेको थियो । त्यसयता निरन्तर घटेर १ हजार ८ सय हाराहारीमा झरेको नेप्से हाल पुन निरन्तर उकालो लागिरहेको छ ।

डेढ महिना उता बजारले वृद्धिको संकेत देखाएपनि गति समात्न भने सकेको थिएन । तर, पछिल्ला डेढ महिनाको कारोबार दिनमा नेप्से करिब ८ सय अंक बढेर २०८१ साउन ३१ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । सेयर बजारको यो वृद्धिलाई नयाँ सरकारसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

खासगरी ०८१ असार १७ को राति नयाँ गठबन्धन बनाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएपछि सेयर बजारको वृद्धि हेर्दा उक्त विश्लेषण सही भएको बताइन्छ । प्राविधिक रूपमा हेर्दा उक्त विश्लेषण शतप्रतिशत सही देखिंदैन । तर, आधारभूत रूपमा हेर्दा नकार्ने ठाउँ नरहेको जानकारहरु बताउँछन् । किनकि, २०८१ असार १७ गते कांग्रेस र एमालेबीच सहमति भएको दिन २ हजार ५३.३८ विन्दुमा रहेको नेप्से २०८१ साउन ३१ गते बिहीबारसम्म तीन हजार दशमलव ८१ मा पुगेको छ ।

यस अवधिमा भएका ४० कारोबार दिनमध्ये १० दिन नेप्से घटेको छ । २८ दिन निरन्तर बढेको बताइन्छ । १० दिनमा नेप्से करिब दुई अंकले घट्दा २८ दिन नेप्से ८ सय ८ अंक बढेको छ । उक्त अवधिमा नेप्से पटक–पटक दोहोरो र तेहोरो अंकले बढेको छ । एक साता मात्र दोहोरो अंक घटेको छ । यसकारण पनि सेयर बजारको यो वृद्धिलाई नयाँ सरकारको आगमनसँग जोडेर हेरिएको जानकारहरू बताउँछन् ।

सरकारले जगायो आशा
अहिले एकातिर नयाँ सरकार गठन र अर्कोतिर नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीतिले बजारमा सकारात्मक संन्देश प्रवाह गरेको जानकारहरु बताउँछन् । यद्यपि, बजार दिगो रूपमा बढ्नुको भरपर्दो कारण भने देखिंदैन । यसले अन्ततः साना अज्ञानी लगानीकर्ताहरूलाई डुबाउन सक्ने आशंकाहरु प्नि भइरहेका छन् ।

सेयरको बुक भ्यालु बढेको सेयर खरिद गर्दा मात्र नाफा हुने जानकारस्रोतको भनाई रहेको छ । अन्यथा, दोस्रो बजारको सेयर खरिद गर्दा नयाँ लगानीकर्ताहरू डुब्नसक्ने आंशका हुँदै आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २०८१ साउन २५ गते सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त दिन नेप्सेमा २५ अर्ब ७७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो । त्यसपछि २०८१ साउन ३१ गते रु. २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, २०८१ भदौ २ गते आइतबार नेप्से ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा बन्द भएको थियो ।  आइतबार मात्रै रू. २८ अर्ब ८३ करोड ६९ लाख ९७  हजार ३७६ बराबरको कारोबार भएको थियो । भदौ ३ गते र ४ गते बजार बन्द रहने छ । (साँघु साप्ताहिकबाट)

प्रतिक्रिया