September 16, 2024, 8:51 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

रिपोर्टर्स क्लबमा गाईजात्रा : प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

भदौ ४, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

मैले भुटनदेवीको दर्शनार्थी भनेको, उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ : शैलेन्द्र सिम्खडा
काठमाडौं,  । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाइजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्य व्यङ्ग्यसँग पनि जोडिएको छ ।

गाइजात्राको अवसरमा हाँस्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाइजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिधमलाले अहिले देशमा प्रत्येक दिन गाईजात्रा भइरहेको टिप्पणी गरे । उनले पञ्चायती व्यवस्थामा राजनीतिक नेतृत्वमाथि गाइजात्राको अवधिमा ८ दिन मात्रै व्यङ्ग्य गर्न पाइने विगतलाई स्मरण गराउँदै अहिले आफूलाई लागेको कुरा जहिले पनि व्यक्त गर्न सकिने अवस्थामा देश आइपुगेको बताए ।

पत्रकार धमलाले नेताहरुलाई प्रत्येक दिन गाली गर्दा गर्दा जनता वाक्क दिक्क भइसकेको बताउँदै अब गाइजात्रामा पनि सकारात्मकता खोज्न सुझाव दिए ।

‘हाम्रो देशमा प्रत्येक दिन नकरात्मक कुरा गरिन्छ । नेताहरुलाई गाली गरिन्छ । आजको दिनमा एउटा संकल्प गरौं, अब राम्रा कुरा गरौं । प्रत्येक दिन गाली गर्दा गर्दा सबै वाक्क दिक्क भइसके,’–उनले भने ।

त्यस्तै, हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे ।

कलाकार सिम्खडाले ‘कहिले घाँस कहिले दाउरा, पधेरीमा पानी, घाँस, दाउरा, पानीगर्दै सकियो जवानी’ भन्ने गीतलाई प्यारोडी गाएका थिए । उनले प्यारोडीमा देशमा व्याप्त भ्रष्टाचार र युवाहरुको विदेश पलायनलाई समेटेका थिए ।

‘कहिले यती, कहिले ओम्नी, कहिले गिरीबन्धु कहानी, भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी,’– उनले प्यारोडीमार्फत व्यङ्ग्य गरेका थिए ।

बाल हाँस्यकलाकार सुयसा खनालले आफूलाई सबैभन्दा मन पर्ने पत्रकार ऋषि धमला रहेको बताउँदै राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पनि उनकै क्यारिकेचर गरेको बताईन् ।

उनले आफूले गरेको क्यारिकेचरको छोटो अंशपनि प्रस्तुत गरिन् । सुयसाले आफ्ना बाबु सन्तोष खनाललाई ऋषि धमला बनेर प्रश्नहरु सोधेकी थिईन् ।

सुयसाले गाइ जात्रामा खस्किँदो अवस्थामा रहेको देशको शैक्षिक अवस्था प्रति पनि ब्यङ्ग गरेकी छिन् ।

अर्का हाँस्यकलाकार दमन रुपाखेतीले आफूहरुले जतिब्यङ्ग्य गरे पनि नेताहरु नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

हाँस्यकलाकार दिनेश काफ्लेले यतिबेलका देशमा सबैलाई महँगी र भ्रष्टाचारले पिरेको बताए । उनले देशमा रोजगारी नपाएर दैनिक रुपमा विदेश पलायन भइरहेका युवाहरुको पीडालाई समेत प्रस्तुत गरे । उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको क्यारिकेचर गरेका थिए ।

हाँस्यकलाकार हिमेश पन्तले गाइजात्राको शुभकामना व्यक्त गरे । उनले राष्ट्रिय नाच घरमा हिजोबाट गाइजात्रा महोत्सव सुरु भएको र आगामी भदौ १० गतेसम्म निरन्तर चलिरहने जानकारी गराए ।

त्यसैगरी, अर्का हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले विगत २१ वर्षदेखि निरन्तर गाइजात्रा निकाल्दै आएको बताए । यसपटक ओएसआर डिजिटलमार्फत ‘ठगठाग कम्पनी’ गाइजात्रा रिलिज गरेको जानकारी गराए ।

जोगिन्दरले सोही गाइजात्राको अंश प्रस्तुत गरे । उनले माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली, माधव नेपाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, रवि लामिछाने, महेश बस्नेत, अशोक राई, बालेन शाहलगायतमाथि ब्यङ्ग्य गरेका थिए ।

हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाइजात्रामा व्यङ्ग्य गर्दा पनि नेताहरु नसुध्रिएको बताए । उनले देश नबन्नुमा नेताहरुको हात छैन जस्तो लाग्न थालेको सुनाए ।

हाँस्यकलाकार नेपालले नेता होईन, अब देश सुध्रिए मात्रै नेपाल बन्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भेटवार्तातर्फ लक्षित गर्दै उनले व्यङ्ग्य गरे ।

कलाकार नेपालले हाँस्यव्यङ्ग्य क्षेत्रलाई सामान्य औषधि र एन्टिबायोटिकले कामगर्न छाडेको बताए । उनले हाँस्य व्यङ्ग्यमा अप्रेसनको आवश्यक्ता औंल्याए ।

‘अहिलेको हाँस्यव्यङ्ग्यलाई एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था छ । अप्रेसन गर्नुपर्ने बेला आइसकेको छ । हामीले गर्ने हाँस्य व्याङ्ग्य पनि सामान्य औषधि जस्तो भइसकेको छ,’– उनले भने ।

हाँस्यकलाकार राजा राजेन्द्रले पत्रकार धमलाको क्यारिकेचर गरे । उनले पत्रकार धमलाले आफ्नो आलोचनालाई जहिले पनि स्वीकार गर्ने गरेको भन्दै उनले प्रशंसा गरे ।

राजा राजेन्द्रले स्वर्गीयपूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराइ लगायतको क्यारिकेचर गरेका थिए । राष्ट्रिय नाचघरमा जारी गाइजात्रामा पत्रकार धमलाको पनि क्यारिकेचर रहेको बताउँदै हेर्न आउन निमन्त्रणा पनिदिए ।

अर्का हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूले ४५ वर्षदेखि निरन्तर गाइजात्राको प्रस्तुति गरिरहेको बताए । पहिला गाइजात्राको अवसरमा वर्षको एक हप्ता मात्रै व्यक्ति तोकेर व्यङ्ग्यगर्न पाइने अवस्था पनि उनले स्मरण गरे ।

सिम्खडाले गाइ जात्राको अभिव्यक्तिलाई सहज रुपमा लिइ दिन पनि आग्रह गरे । यसपटक प्रज्ञा भवनमा ५’ शो र राष्ट्रिय नाचघरमा ११ शो गाइजात्रा प्रदर्शन गरिने पनि उनले जानकारी गराए ।
कार्यक्रममा उनले कवितामार्फत राजनीतिक नेतृत्वमाथि ब्यङ्ग्य गरे ।

पत्रकार धमलाले अबबाट ‘सकरात्मकताको खोजी गरौं’ भन्ने प्रस्ताव गरेको स्मरण गराउँदै उनले त्यो अवस्था नरहेको बताए । उनले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत यसरी व्यङ्ग्य गरेः

‘श्रीमानममाथि लागेको आरोप मिथ्या छ ।
मैले प्रष्ट भन्दा उहाँहरुले भ्रष्ट सुन्नुभो ।
मैले गठबन्धनभन्दा उहाँहरुले ठगबन्धन सुन्नुभो ।
मैले जोरपाटीभन्दा उहाँहरुले चोरपाटी सुन्नुभएछ ।
मैले भुटनदेवीको दर्शनार्थी भनेको,
उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ ।
मैले झापाको टी स्टेट कसले खाएको भनेको,
उहाँहरुले बालकोट बा सुन्नुभएछ ।
कार्यक्रममा कलाकार सुरेन्द्र केसी, पल्पसा डङ्गोल लगायतको उपस्थिति र प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया