September 16, 2024, 8:47 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

दृष्टिविहीन गायक स्व.तिमिल्सिना : जो कोशीमा माझीले हानेको जालमा परेर बाँचेका थिए

साउन २८, २०८१ मा प्रकाशित | २१७०दर्शक तीव्रखबर

काठमाडौं । दृष्टिविहीन गायक प्रकाश तिमिल्सिनाले शनिबार साँझ ललितपुरको भैंसेपाटीस्थित निवासमा प्राण त्यागे । उनी जम्मा ३७ वर्षका थिए । शनिबार बेलुकी ६ बजे कोठामै अचेत अवस्थामा भेटिएका उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो । तर सो अस्पतालका चिकित्सकले उनको पहिला नै निधन भएको घोषणा गरिदिए ।

विगत डेढ दशकदेखि गायनमा सक्रिय उनका तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म…, माया गरे जस्तै मलाई, तिम्रो हातको सिन्दुर, आखिर झुक्याएर मलाई, जुन भन्दिनसहित दर्जनौ गीतहरु हिट थिए । उनै गायक तिमिल्सिनाको जीवनको गायन यात्रा, फरक क्षमता, विगतबारे धेरैलाई थाहा नहुन सक्छ । हामी यही विषयमा चर्चा गर्दैछौं ।प्रकाश तिमिल्सिना तिनै गायक थिए, जो छामेरै ‘आईफोन’ बनाउन सक्थे । सारंगी यस्तरी रेट्थे कि मानौं, सारंगी नै उनी हुन् । गितार, तबला, हारमोनियमका सप्तकका आरोह–अवरोहमा नदीझैं बहन्थे, प्रकाश । उनले अंग्रेजी बोल्दा विदेशी पर्यटकसमेत तीनछक पर्थे । गायकीको त कुरै छोडौं १ सायद, कोशीको भेलबाट भगवानले उनलाई गाउनकै लागि धर्तीमा छोडेका थिए ।

जालमा परेर बाँचेका थिए प्रकाश

प्रकाशको जन्म २०४४ सालमा सुनसरीको कोशीटापुमा भएको थियो । गायक प्रकाशको बाल्यकाल निकै पीडादायी रुपमा बित्यो । यी गायकले २०४५ सालको भूकम्पपछि लगत्तै सप्तकोशीमा आएको बाढीमा आफ्नो सबै परिवार गुमाएका थिए । घरमा सुतिरहेको बेला राति आएको त्यो भीषण बाढीले घर बगेपछि उनीसँगै बुबा, आमा, हजुरबा, काकासहित नौ जना परिवारलाई बगाएको थियो । उनी त्यतिबेला नौ महिनाको बालकको रुपमा झोलुंगोमा थिए । बाढीले उनीबाहेक सबैको ज्यान लियो । प्रकाश भने एकजना माझीले माछा मार्न कोशीमा हानेको जालमा परे । त्यो जाल हान्ने उनकै मितबुबा थिए ।

मितबुवा माझीले प्रकाशलाई हजुरआमाको कोखमा सुम्पिदिए । तर, उनको दृष्टि सदाका लागि गुम्यो । यसरी बाढीमा परेका कारण टाउको तथा आँखामा चोट लागेर उनको दृष्टि गुमेको थियो । तिनै मितबुबाले उनलाई घरमा ल्याएर पालनपोषण गरेका थिए । ती मितबाबुले अरुसँग आर्थिक सहयोग मागेर प्रकाशलाई हुर्काएका थिए ।

पहिलो गीतबाटै हिट
गायक प्रकाश तिमिल्सिना स्कुले जीवनमै निकै मिठो गीत गाउँथे । उनको स्वरमा गीत रेकर्ड गरेर गायक बनाउने मित बुबाको ठूलो सपना थियो । सो सपनाले २०६५ सालमा पहिलो पटक सार्थकता पाएको थियो । त्यो साल ईमेज च्यानलले आयोजना गरेको गायनसम्बन्धी रियालिटी शोमा प्रकाश उत्कृष्ट भएका थिए । त्यसपछि रेडियो नेपालबाट स्वर परीक्षण गरेर उनले आफ्नो स्वरमा प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ।।।’ गीत रेकर्ड गरे । यो गीतबाटै उनी लोकप्रिय भए ।

फरक क्षमता र मखमली स्वरका धनी प्रकाशले सुरुमा अरुको कभर गीतबाट गायन यात्रा सुरु गरेका थिए । दृष्टिविहीन कलाकारको मीठो स्वर भएका कारण पनि उनी चाँडै नै दर्शक श्रोताको नजरमा परेका थिए । प्रकाशका तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म…, माया गरे जस्तै मलाई, मान्छे रै छे खली, तिम्रो हातको सिन्दुर, जुन भन्दिन सहित दर्जनौ गीतहरु हिट थिए । विगत डेढदशक देखि उनी गायनमा सक्रिय थिए ।

१४ भाषामा गाउन सक्ने क्षमता थियो
प्रकाश विभिन्न १४ भाषामा गाउन सक्थे । यही क्षमता भएका उनले ५५ मुलुकमा ‘सांगीतिक कार्यक्रम’ गर्ने क्रममा दक्षिण कोरियाको पुसान अस्पतालका चिकित्सकले ‘देख्न सक्ने’ विश्वास दिलाए । त्यसपछि आर्थिक संलकनमा लागेका प्रकाशमा नयाँ ऊर्जा थपिएको थियो । उनको आँखाको नसा नसुकेको र चुँडिएकाले उपचार सम्भव थियो । १० वर्षअघि नै ४५ लाख खर्च लाग्ने भनिए पनि उनले उपचार गर्न सकेनन् । दृष्टि फर्किन सक्ने भनेर २०७० सालमा चिकित्सकहरुले बताउँदा यी गायक निकै खुसी भएका थिए । जसका लागि शल्यक्रिया गर्नु पर्ने थियो । आफूले गायनबाट कमाएको रकम र केही सहयोग लिएर आँखाको उनी अप्रेसन गर्न चाहन्थे । अप्रेसनपछि यो संसारलाई फेरि हेर्ने चाहना बोकेका प्रकाशको त्यो चाहना पनि अन्त्य भएको छ ।

भ्वाइस अफ अमेरिकामा जाने सपना
गायक प्रकाश तिमल्सिना भ्वाइस अफ अमेरिका तथा अमेरिका गड ट्यालेन्टमा सहभागी हुन चाहन्थे । यो प्रतियोगितामा अहिलेसम्म कोही दृष्टिविहीनले भाग नलिएका कारण आफूले सो कार्यक्रममा भाग लिन चाहेको उनको कथन थियो । सो प्रतियोगितामा अमेरिकामा रहेर त्यहीँको अप्रवासी भिसा लिएर एकजनाले यसअघि भाग लिएका थिए । तर उनी नेपालबाट प्रत्यक्ष भाग लिने आफू पहिलो नेत्रहीन कलाकार बन्न चाहन्थे । उनी आँखाको अप्रेसन पनि अमेरिकामै गर्न चाहन्थे । प्रकाशका यी सबै सपना अधुरै रहे ।

प्रतिक्रिया