काठमाडौं, बैंक तथा वित्तीय संस्थाहरूमा हालसम्म सङ्कलन भएको कुल निक्षेप रकम ६४ खर्ब ३० अर्ब रूपैयाँ पुगेको छ । यस अवधिमा कुल कर्जा रकम ४५ खर्ब ५० अर्ब रूपैयाँ छ ।
बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । अहिले यस्तो अनुुपात ७८ दशमलव ५४ प्रतिशत छ ।
अहिलेको निक्षेपअनुसार ५७ खर्ब ८७ अर्ब रूपैयाँ कर्जा प्रवाह गर्न मिल्ने रकम हो । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग अझै छ खर्ब ४३ अर्ब रूपैयाँको हाराहारीमा लगानीयोग्य रकम छ ।
दुई वर्षअघि वित्तीय प्रणालीमा तरलता अभाव थियो । उच्च आयातको कारण विदेशी मुद्रा सञ्चिति पनि कम हुँदै गएको थियो । अर्कोतर्फ मुद्रास्फीति पनि उच्च हुँदै गयो ।
त्यस समस्यालाई समाधान गर्न केन्द्रीय बैंकले आयात निरुत्साहित गर्ने नीति लियो र कर्जा प्रवाहमा कडाइ ग¥यो । माग पक्ष कमजोर बनाएर अर्थतन्त्र ट्र्याकमा ल्याउन ब्याजदर बढाउने नीति लिइयो ।
त्यसको असरले बजार सङ्कुचित हुनगयो । ब्याजदर बढाउँदा माग पक्ष कमजोर भयो र आयात निरुत्साहित भयो । बजारमा वस्तुको माग नै कम भएपछि उद्योगी व्यवसायीले उत्पादन घटाए, आयात खुम्चियो ।
बाह्य क्षेत्र ठीक ठाउँमा आयो । महँगो ब्याजदर भएकाले बैंकमा निक्षेप राखेर ब्याज खाने बढे । अहिले बैंकहरूले ब्याजदर घटाएका छन् ।
तर, उपभोगमा वृद्धि हुन सकिरहेको छैन यसले गर्दा बजारमा माग पक्ष अझै पनि कमजोर छ । माग पक्ष कमजोर भएपछि उद्योगीहरूले बैंकबाट ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यही कारण बैंकमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार सीडी रेसियो ७८ दशमलव ५४ प्रतिशत छ । बैंकिङ प्रणालीमा भएको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूसँग मात्रै ५७ खर्ब रूपैयाँ निक्षेप रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूसँग सात खर्ब ३१ अर्ब रूपैयाँ निक्षेप रहेको छ ।
यस अवधिमा वाणिज्य बैंकहरूले ४५ खर्ब ५० अर्ब रूपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ९२ अर्ब रूपैयाँकर्जा प्रवाह गरेका छन् ।
बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न समयमा निक्षेप सङ्कलन गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाले पनि अल्पकालीन अवधिको स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरिरहेका छन् ।
केन्द्रीय बैंकले साउन १६ गते बुधबार एकैदिन ४० अर्ब रूपैयाँ वित्तीय प्रणालीबाट तानेको छ । निक्षेप सङ्कलन बोलकबोलमार्फत सो रकम प्रशोचन गरेको हो ।
परिपक्व हुने अवधिमा २१ दिन अर्थात् भदौ पाँच गते तोकिएको यो निक्षेप उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खरिद गरेका हुन् ।
यसअघि पनि साउन २ गते केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब रूपैयाँ तानेको थियो । साउन नौ गते पुन २१ दिनको अवधि तोकेर ४० अर्ब रूपैयाँ वित्तीय प्रणालीबाट तानेको थियो ।
चालू आर्थिक वर्ष लागेपछि मात्रै केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट झण्डै पाँच खर्ब रूपैयाँ तरलता व्यवस्थापन गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले एसडीएफमार्फत तीन प्रतिशत ब्याजदरमा पैसा लिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूबीच तीन प्रतिशतभन्दा कम ब्याजदरमा कारोबार भइरहेको छ ।
अधिक तरलता रहेको अवस्थामा कुनै बैंकले एक सापटी खोज्दा धेरै बैंक दिन तयार रहने भएकाले ब्याजदर तीन प्रतिशतभन्दा तल झरको बैंकरहरू बताउँछन् । अहिले अन्तरबैंक कारोेबारको ब्याजदर दुई दशमलव ९७ प्रतिशत देखिएको छ ।
निक्षेप सङ्कलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो ।
यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
आर्थिक दैनिकबाट
प्रतिक्रिया