भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छन् । उनले त्यसकारण उनीहरुलाई जनताले कारबाही गर्नुपर्नेमा जोड दिए ।
पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले उनीहरुलाई जनताले काठमाडौको टुँंडिखेलमा ल्याएर कारबाही गर्नुपर्ने बताए । अध्यक्ष विजुक्छेंले आफनो पार्टीबाहेक अहिलेसम्म झण्डै सवै पार्टीहरु सरकारमा गएको र अहिलेको यो अवस्था आउनुमा उनीहरु सवै दोषि भएको बताए ।
देशमा राजतन्त्र र प्रजातन्त्र वा लोकतन्त्रिक व्यवस्था दसकौं देखेको तर यो व्यवस्थाले जनताको कुनै हित नभएको भन्दै अव समाजबादी व्यवस्थाको अर्काे विकल्प नभएको बताए । उनले ऐन कानुनमार्फत् देशद्रोही काम गर्ने सवैलाई कारवाही गर्नुपर्नेमा पनि जोड दिए ।
अधिवेशनमा पार्टी सचिव एवं संघीय सांसद् प्रेम सुवाल, केन्द्रिय सदस्य सुनिल प्रजापतिलगायतका वक्ताहरुले देशमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको तर उनीहरुमध्ये आफूहरुको पार्टी मात्रै सच्चा कम्युनिष्ट पार्टी भएको दावी गरे ।
आजदेखि सुरु भएको महाधिवेशन फागुन १९ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षकहरु तथा कार्यकर्ताहरु सहभागी रहेका पार्टीले जनाएको छ । उदघाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँंच ठाउँंहरुबाट छुटाछुटै जलुश भएको थियो । विहान १० बजे भेला भई बाजागाजाका साथ रयालीसहित उदघाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँंसो १ बजे पुगेका थियो । पार्टीको आठौ महाधिवेशनले पार्टीको नयाँं नेतृत्व पनि चयन गर्नेछ ।
पार्टीको स्थापना विक्रम संवत् २०३१ साल माघ १० गते भएको थियो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो ।
सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । २३ केन्द्रीय र २ जना वैकल्पिक केन्द्रीय सदस्य थिए ।
सातौँ महाधिवेशनबाट निर्वाचित अन्य सदस्यहरूमा कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही थिए । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिर सीँ विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका थिए । कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह र वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिबाट प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
पार्टीको अध्यक्षमा लगातार नारायणमान बिजुक्छेँ रही आएका छन् । ८५ वर्षका बिजुक्छे नेतृत्वको पार्टीमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सङ्केत नेताहरूले गर्दै आएका छन् ।
पार्टीको स्थापना २०३१ माघ १० मा भएको थियो । त्यसपछि प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो ।
प्रतिक्रिया