अरुविरुद्ध मुद्दा हाल्ने कानुन व्यवसायी आफैंमाथि पनि मुद्दा पर्न थालेको छ । आफ्नो मुद्दाको क्रममा वकिलले ४० लाख रूपैयाँ खाइदिएको भन्दै एक जना अदालत पुगेका छन् । काठमाडौंमा घर भएको त्यो परिवार अहिले डेरामा पुगेको छ । व्यापार व्यवसाय पनि डामाडोल छ । यस्तै अवस्थाबीच उच्च अदालत, पाटनमा गत चैतमा एक कानुन व्यवसायीविरुद्ध रिट निवेदन दायर भएको पाइएको छ ।
मुद्दा जिताइदिन्छु भन्दै लाखौं रूपैयाँ खाएको र फिर्ता माग्दा पटक-पटक धम्की दिएको निवेदनमा उल्लेख छ । काठमाडौं महानगरपालिका-११ माइतीघरमा ल फर्म सञ्चालन गरी बसेका काभ्रेली कुमारप्रसाद आचार्यले के एण्ड एस इन्टरप्राइजेज नामक ट्रेडिङ कम्पनीका मालिक विक्रम आचार्यको घरजग्गासम्बन्धी मुद्दा हेरेका थिए । बुहारीले अंश मुद्दा हालेपछि काठमाडौं जिल्ला अदालतले रोक्का गरेको घरजग्गा फिर्ताका लागि कानुनी प्रक्रिया अगाडि बढाउन खोज्दा भेटिएका कुमारले विक्रमको उठिबास लगाइदिएका हुन् । अंशसँगै विक्रमको बुवाले लिएको ऋण पनि बाँकी थियो । उनले घरजग्गाको सम्पूर्ण काम आफैं हेर्छु भनी विक्रमलाई घर बिक्री गरेर ऋण तिर्न सुझाव दिए । बुहारीसँग मुद्दा मिलापत्र गरेर कुमारले ल्याएको व्यक्तिलाई नै घर बेचे । त्यसपछि परिवार डेरा सर्यो । उनले विक्रमकी आमाले सबै सम्पत्ति बहिनीको नाममा बकस गरिदिएको थाहा पाएछन् । त्यसपछि अंश, जालसाजी, लिखत बदरको मुद्दा हालेर सम्पत्ति दिलाइदिन्छु भन्दै विक्रमलाई पुनः सम्पर्क गरे । उनले पनि विश्वास गरेर आमा र बहिनीविरुद्ध छुट्टाछुट्टै मुद्दा हाले । बकसको घरजग्गा रोक्का भयो ।
मुद्दाको सबै जिम्मा कुमारलाई नै दिएका थिए । तर, कुमारले बीचमा बसेर दुवैतिरबाट पैसा तान्ने प्लान बनाए । प्रतिवादीसँग मिलेर जग्गा फुकुवा गराए । जुन कुरा विक्रमले थाहा पाएनन् । उल्टै भाइ र आमासँग मिलेर उनीविरुद्ध अंश दपोटको मुद्दा हाल्न लगाए । विक्रमलाई भाइले यसबारे जानकारी गराए । शंका लागेर अदालतमा गएर बुझ्दा घरजग्गा फुकुवा भएको र रोक्का फुकुवाविरुद्ध उच्च अदालत जाने तारेखसमेत गुज्रिसकेको पत्तो पाए । त्यसपछि कुमारको कार्यालय पुगे । आफ्नो ४० लाख रूपैयाँ खाइसकेर आफैंलाई धोका दिएको गुनासो गर्दा कुमारले प्रहरी बोलाएर थुनाउने धम्की दिएका हुन् । आफू वकिल भएको भन्दै उनले विक्रमलाई विभिन्न अञ्जान नम्बरबाट फोन गरेर तर्साएको र कालिमाटी प्रहरीको इन्स्पेक्टर हुँ भन्दै फोन आएको बताउने विक्रम अन्तरिम आदेशसहित निषेधाज्ञा माग गर्दै अदालत पुगेका थिए ।
उनको मागअनुसार नै अदालतले गैरकानुनी रूपमा धरपकड नगर्न, नगराउन आदेश दिएको छ । अदालतले आफ्नो पक्षमा आदेश गरे पनि लाखौं रूपैयाँ सकिएको थकथकी विक्रमलाई छ । यता, कानुन व्यवसायी कुमारले भने आफूमाथि झुटो आरोप लगाइएको बताए । आफूले होम सर्भिस दिएको उल्लेख गर्दै उनले अझै हिसाबकिताब बाँकी रहेको दाबी गरे । विक्रमले आफूमाथि आक्रमणसमेत गरेको उनको ठोकुवा छ । कुमारका अनुसार उनले आफ्नो ज्यान सुरक्षाको माग गर्दै हनुमानढोका प्रहरीमा निवेदन दिएका थिए । ‘मान्छेलाई मन नपरेपछि जस्तो पनि आरोप लगाउँछ । मैले उनको घरमै गएर सर्भिस दिएँ । आफूले भनेअनुसार नभएपछि उनी मविरुद्ध लागेका हुन् । बाटोमा हिँड्दै गर्दा ममाथि आक्रमण भयो । त्यसपछि शान्तिसुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएँ । उनी मविरुद्ध प्रहरीमा गएछन् । म्याद आइहाल्यो भनेर लिखित जवाफ दिएको हुँ । हिसाब गर्ने हो भने उनले मेरो अझै धेरै तिर्न बाँकी छ, मैले छोडिदिएको हुँ’, उनले भने । -जनआस्थाबाट
प्रतिक्रिया