September 8, 2024, 1:38 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

युरिक एसिडको कारण र नियन्त्रण गर्ने उपाय

साउन १०, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

रगतमा हुने एसिडमध्ये युरिक एसिड पनि एक हो । यो शरीरमा थोरै मात्रामा हुन्छ र पानीमा घुलनशील हुन्छ । यसलाई मिर्गौलाले पिसाबबाट बाहिर निष्कासन गर्छ । तर जब शरीरमा बढी भएको वा उत्पादन भइरहेको युरिक एसिड मिर्गौलाले राम्ररी फाल्न सक्दैन तब रगतमा युरिक एसिड बढेर जान्छ ।

जब शरीरमा युरिक एसिडको उत्पादन बढ्छ, मिर्गौलाले यसलाई पूर्ण रूपमा हटाउन सक्दैन । जसकारण यो जोर्नी र तन्तुमा जम्मा हुन थाल्छ । शरीरमा युरिक एसिडको मात्रा बढेपछि जोर्नी दुख्ने र सुन्निने मात्र नभई अन्य धेरै  समस्या पनि हुनसक्छ ।

युरिक एसिडको कारण

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ । मिर्गौलाको समस्यामा युरिक एसिड बढी हुने गर्छ । किनभने युरिक एसिड शरीरमा उत्पादन हुने प्रक्रियामा हुन्छ, हामीले खाएको खानेकुराबाट उत्पादन हुन्छ । त्यही चीज मिर्गौलाबाट ‘फिल्टर’ भएर हाम्रो पिसाबमा आउनुपर्ने हुन्छ । तर मिर्गौलाको बिरामीमा युरिक एसिड फिल्टर हुँदैन, त्यही भएर युरिक एसिड बढ्ने गर्छ ।

युरिक एसिड हुनुको अर्को मुख्य कारक वंशाणुगत हो । र, केही क्यान्सरको बिरामीमा पनि युरिक एसिड बढ्ने सम्भावना हुन्छ । उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन जस्ता थुप्रै कारणले पनि युरिक एसिडको मात्रामा असर पर्न सक्छ ।

धेरै प्युरिन भएका खानेकुरा रातो मासु, बट्टामा प्याक भएको खाना खाँदा पनि शरीरमा युरिक एसिड बढेर समस्या निम्तिन सक्छ ।

लक्षण

जोर्नी दुख्ने, जोर्नी सुन्निने, रातो हुने, जोर्नी चलाउन नसकिने, मिर्गौलामा पत्थरी र बिहान उठ्ने बेलामा दुखाइ धेरै हुने आदि युरिक एसिडका लक्षण हुन् ।

शरीरमा युरिक एसिडको मात्रा बढ्दा यी रोगको खतरा बढ्छ

युरिक एसिड सामान्य भन्दा बढी भयो भने त्यसले शरीरलाई हानि पुर्‍याउने र विभिन्न समस्या दिने हुन्छ । युरिक एसिड बढी भयो भने जोर्नीमा समस्या दिने खुट्टाको बूढी औंलामा असर गर्ने हुन्छ । समयमै उपचार गरिएन भने युरिक एसिड बढ्दै गएर शरीरको जुनसुकै स्थानमा जम्मा भएर बस्छ । मिर्गौलामा पत्थरीको रुपमा जमेर बस्छ ।

धेरैजसो युरिक एसिडले खुट्टाको बूढी औंलामा असर गर्ने भइकाले क्रिस्टल बन्ने र त्यसले एकदमै दुखाइ हुने हुन्छ । यो क्रम बढ्दै जान्छ ।

नियन्त्रणको उपाय

पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।

दूध, फलफूल, हरियो तरकारी, दही र सलाद खानुपर्छ । प्रोटिन धेरै भएका खानेकुरा खाँदा सन्तुलन मिलाएर खानुपर्ने हुन्छ । खानपानमा सतर्कता अपनाउनुपर्छ । रातो मासु, जनावरको भित्री अंग कलेजो, फोक्सो, गिदी, आन्द्रा खानै हुन्न ।

समुन्द्री खानेकुरा, समुन्द्री माछा पनि खानु हुँदैन । रक्सी बियर पनि खानु हुँदैन । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्रा बढाउनुका साथै शरीरमा बनेको युरिक एसिडलाई पिसाबबाट विसर्जन हुन रोक्छ ।

कोकाकोला, पेप्सी, स्प्राइट, फेन्टा जस्ता कार्बोनेटेड पेयहरूले युरिक एसिडलाई बढाउँछ । त्यसैले यस्ता पेय पदार्थ पनि खानु हुँदैन । नियमित व्यायाम र योगले मोटोपन घटाउन सहयोग गर्छ । मोटोपन घटाउनु भनेको युरिक एसिडको जोखिम घटाउनु हो । दैनिक रूपमा शारीरिक व्यायाम र योग गरियो भने युरिक एसिडको समस्या नै हुन दिंदैन । युरिक एसिड भएको खण्डमा पनि छिटो निको हुन सहयोग पुग्छ ।

कस्तो अवस्थामा औषधि खाने ?

कुनै पनि समस्या थोरै बढ्दा पनि औषधि खाइहाल्ने नेपालीहरुको बानी हुन्छ । रगतमा युरिक एसिडको लेभल केही मात्रामा बढ्दैमा पनि औषधि खाइहाल्नुपर्छ भन्ने छैन । केटा मान्छेमा १२ भन्दा बढी केटी मान्छेमा १० भन्दा बढी भयो भने मात्र औषधि खानुपर्छ ।

औषधिसँगै खानपानमा ध्यान दिने, शारीरिक व्यायाम, योग आदिले पनि युरिक एसिड कम हुन्छ । साथै, समय-समयमा युरिक एसिडको जाँच पनि गरिरहनुपर्छ । यसो गर्दा युरिक एसिड घटेको बढेको थाहा हुन्छ ।  डा. प्रयुश शर्मा

प्रतिक्रिया