February 24, 2025, 3:46 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

पुस २९, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

तनहुँ, । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटर गरी दश सेन्टिमिटर सडक कालोपत्र गरिएको छ ।

उक्त सडक खण्डमध्ये ६९ किमी सडक दूरीमा दुई लेनका सडक कालोपत्रकार्य सम्पन्न गरिएको पूर्वीखण्डका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार अन्तिम चरणको कालोपत्र गर्ने काम भइरहेको छ । जिल्लाको डुम्रे, छिर्कन र दमौली खण्डमा निर्माण कार्य तीब्रगतिमा अघि बढाइएको छ ।

बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरू गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढाइने आयोजनाले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्र गरिँदै छ । दमौली बजारमासमेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्र विन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भइरहेको छ ।

यस खण्डमा साना चौध वटा पुल निर्माणकार्य सकिएका छन् । ठूला तीन वटामध्ये डुम्रे बजार नजिकैको एउटा पुल अन्तिम चरणमा पुगेको छ, दुई वटाको निर्माणकार्य सम्पन्न भइसकेको छ ।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम  ५० प्रतिशत बढी पूरा भइसकेको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरू भएको थियो ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

पूर्वी खण्डको ठेक्का रू छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको थियो । यस खण्डको सम्झौता म्याद समाप्त भएपछि पुनः फागुन २ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

प्रतिक्रिया