February 24, 2025, 9:01 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रविसहितको मुद्दामा थुनछेक बहस अन्तिमतिर, पोखरामा सुरक्षा कडा बनाइयो

पुस २४, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएकाहरूको थुनछेक बहस अन्तिम चरणमा पुग्दा स्थानीय प्रशासनले सुरक्षा कडा बनाएको छ ।

जिल्ला अदातलका न्यायाधीश नीतिज राईको इजलासमा एक सातादेखि जारी बहस अन्तिमतिर पुग्दै गर्दा प्रशासनले सुरक्षा कडा बनाएको हो ।

पोखराका मुख्य चोकसहित संवदेनशील स्थानहरूमा बुधबारदेखि सुरक्षा कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

जिल्ला अदालतमा मुद्दाको अन्तिम टुंगोतिर जाँदै गर्दा पोखरास्थित जिल्ला प्रशासन कार्यालय कास्कीअगाडिको राष्ट्रबैंक चोक, वाइचोक र सहिद चोक क्षेत्रमा सवारीसाधन सञ्चालमा रोक लगाइएको छ ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनीसहित सबै ७ जना प्रतिवादीको बहस सकिन लागेको अवस्थामा सम्भावित हुलदंगा हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । लामिछानेबारेको बहसले निचोडमा पुग्नै लाग्दा प्रशासनले मुख्य चोकमा कडाइ गरेको हो ।

अदालतको आदेश आउन लागेको अवस्थामा मंगलबारदेखि नै प्रशासनले सरकारी कार्यालय र अदालत रहेका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।

मंगलबार मात्रै लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकले अदालतबाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।

मुद्दाको आदेश आउने अवस्थामा देशभरबाट रास्वपाका समर्थकहरू जम्मा हुन सक्ने सम्भावना छ । त्यहीकारण सुरक्षाकर्मी पनि बाक्लो संख्यामा सडकमा परिचालन गरिएको छ । उता, सहकारीपीडितहरू पनि ठूलो संख्यामा सडक निस्किने भएकाले प्रशासनले सतर्कता बढाएको हो ।

प्रतिक्रिया