काठमाडौं– नेकपा (एमाले)का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकाको एकै वडाका ४६ जना संगठित सदस्यहरूले पार्टी परित्याग गरेका छन् ।
भट्टको गृहनगर गोदावरी नगरपालिका-२ का ४६ जना एमालेका संगठित सदस्यहरूले एकै दिन सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनीहरूले पुस ११ गते एमालेको नगर कमिटी अध्यक्षलाई हस्ताक्षर र संगठित सदस्यता नम्बरसहित उल्लेख गरेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।
यसरी राजीनामा दिनेहरू सबै ४६ जना सचिव भट्टसँगै नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेकाहरू हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले उक्त राजीनामा पत्र सोमबार मात्रै सार्वजनिक गरेको छ ।
एमाले परित्याग गर्नेहरूले एमाले भएर बस्दा पनि आफूहरूले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व कै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र बस्न नसकिएको निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
‘अहिलेको एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने भए पनि त्यसका विरुद्ध मुख्य नेतृत्व खास गरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौँ,’ एमाले परित्याग गरेका पूर्वमाओवादीहरूको राजीनामा पत्रमा भनिएको छ ।
प्रतिक्रिया