February 25, 2025, 12:58 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन

पुस १९, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सीमित स्रोतसाधनकाबीच गम्भीर भएर काम गर्न निर्देशन दिए ।

‘अहिले चुनौतीका रूपमा देखा परेका तीन वटै विषय एक अर्कासँग सम्बन्धित छन्’, उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।’

सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रहसमेत उनले गरे  ।

मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको उल्लेख गर्दै मन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए । ‘हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ’, उनले भने, ‘विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।’

गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिने गरी काम गर्न निर्देशन दिए । उनले सेवा प्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनका लागि पूर्व तयारी प्रभावकारी बनाउन पनि निर्देशन दिए ।

‘सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा जोड दिएर लाग्नुहोस्’, सचिव दुवाडीले भने, ‘जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।’ भर्चुअल बैठकमा देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया