काठमाडौं / चर्को जनविरोधका कारण रोकिएको विभूषण वितरणका लागि सरकारले फेरि प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर विभूषण प्राप्त गर्न इच्छुक योग्य व्यक्तिलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘यस वर्ष प्रदान गरिने विभूषणका लागि योग्य महानुभावहरुले आफुले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग ३५ दिनभित्र सम्पर्क गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई संविधान दिवसको अवसरमा कदर तथा सम्मानस्वरुप मानपदवी, अलङ्गर तथा पदकजस्ता विभूषण प्रदान गर्दै आएको छ । त्यसका लागि विभूषण ऐन, २०६४, विभूषण नियमावली, २०६५ (संशोधनसहित) बमोजिम मापदण्ड पूरा भएको हुनुपर्छ ।
तर, मापदण्ड उल्लंघन गरेर जथाभावी ठूलो संख्यामा विभूषण वितरण गर्ने थालेपछि पछिल्ला वर्षहरुमा यो विवादमा परेको छ । ०७९ सालमा सरकारले ९९३ जनालाई विभूषण दिने निर्णय गरेको थियो । जुन अहिलेसम्मकै धेरै हो । सो वर्ष विभूषण फारिस गर्दा केही विवादस्पद व्यक्तिसमेत परेपछि विवादित बनेको थियो ।
त्यसपछि ०८० भदौ २९ गतेको क्याविनेट बैठकले विभूषण वितरण स्थगन गर्दै त्यसलाई मर्यादित र थप व्यवस्थित बनाउन कार्यदल गठन गरेको थियो । विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेत अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन कार्यदललाई भनिएको थियो ।
कार्यदलकै प्रतिवेदनका आधारमा यसपटक ‘विभूषण सिफारिस कार्यविधि एवं सम्मानसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम आवेदन आह्वान गरिएको हो ।
प्रतिक्रिया