काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । न्यायाधीश नितिज राईको इजलासमा हिजो दिउँसोदेखि शुरु भएको बयान आज साँझ सकिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाइएको छ । दुई दिनगरी झण्डै पाँच घण्टा लामो बयानका क्रममा इजलासले ३६ वटा प्रश्न सोधेकोमा उनले सबैको इन्कारी जवाफ दिएको बताइएको छ ।
लामिछानेले सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम गएको सम्बन्धमा आफूलाई जानकार नरहेको दावी गर्दै संस्थाको सबै आर्थिक हरहिसाबको जिम्मा जिबी राईमा रहेको बताएका थिए । न्यायाधीशले ‘तपार्इंविरुद्ध प्रहरीले खातका खात प्रमाण टेबलमा राखिदिएको छ, यी सबै नक्कली हुन् त ?’ भन्ने प्रश्न राख्दा लामिछानेले ‘पोखरामा सूर्यदर्शन नाम गरेको सहकारी पनि रहेछ भन्ने कुरा हालै मात्र थाहा पाएको’ भनी जवाफ फर्काएको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा शुरुदेखि नै आफ्नो संलग्नता अस्वीकार गर्दै आएका लामिछानेले यसअघि संसदीय विशेष समिति र सरकारी वकिलसँगको बयानमा पनि आरोप अस्वीकार गरेका थिए । जिबी राई समूहले देशका मुख्य शहरमा सहकारी संस्था खोलेर गोर्खा मिडियामार्फत् रकम अपचलन गरेको लामिछानेमाथि आरोप लाग्दै आएको छ ।
गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहँदा उनले चेकमा दस्तखत गरी पत्नी निकिता पौडेल, ससुरा उद्धव पौडेललगायत विभिन्न व्यक्तिलाई रकम बाँडेको कागजी प्रमाण बाहिर आइसकेको छ । त्यसैका आधारमा सहकारी ऐनविपरित रकम अपचलनका लागि कृत्रिम कारोबार, कृत्रिम व्यक्ति, काल्पनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्वयोजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको अभियोगमा सरकारी वकिलले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
अभियोग पत्रमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा फरक–फरक बिगो कायम गरिएको छ ।
जनआस्था बाट
प्रतिक्रिया