December 25, 2024, 1:06 am
» हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर » सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ » टर्कीको कारखानामा विस्फोट : १२ जनाको मृत्यु » बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार » प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

डोनाल्ड ट्रम्पका आगामी निर्णयपछि अमेरिका विश्व मञ्चबाट एक्लिँदै !

पुस ९, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको निम्ति शपथ ग्रहणलगत्तै अचम्मको निर्णय गर्न आवश्यक प्रक्रिया थालेका छन् । उनले आगामी जनवरी २० तारिखका दिन शपथ ग्रहणलगत्तै अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलग भएको घोषणाको निम्ति आवश्यक निर्णय लिने भएका छन् ।

उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का चर्को आलोचक रोबर्ट एफ केनेडी जुनियरलाई क्याबिनेटमा वरिष्ठतासँगै स्वास्थ्यमन्त्री बनाउने तयारी गरिसकेका छन् । ‘फाइनान्सियल टाइम्स’ का अनुसार कोरोना महामारीको दोष चीनमाथि थोपर्नुपर्ने धारणा राख्दै आएका ट्रम्पले यसअघि सन् २०२० मा पनि डब्लूएचओबाट अमेरिकालाई अलग्याउने प्रक्रियाको थालनी गरेका थिए ।

तर, लगत्तै उनको पद सकिएकाले नयाँ राष्ट्रपति जो बाइडनले उनको निर्णयलाई रोकिदिएका थिए । ट्रम्पले डब्लूएचओलाई बेइजिङको कठपुतली भएको आरोप लगाउँदै आएका छन् । अमेरिकाले त्यस्तो निर्णय लिएमा ‘विश्वव्यापी स्वास्थ्य नीति’मा नाटकीय परिवर्तन आउने र विश्वव्यापी रुपमा महामारीसँग लड्ने अन्तर्राष्ट्रिय प्रयासमा वाशिङ्टन एक्लो हुनेछ ।

यसअघि उनले आप्रवासीहरुलाई देश निकाला गर्ने घोषणापछि उनीहरुका सन्तानलाई दिईंदै आएको जन्मसिद्ध नागरिकताको प्रावधान परिवर्तन गर्ने बताइसकेका छन् । ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने दोहोर्याउँदै जनवरी २० मा कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणालीलाई अन्त्य गर्न चाहेको बताएका हुन् ।

हालसम्म अमेरिकामा जन्मेका जोकोहीलाई जन्मसिद्ध नागरिकताको अधिकार छ । अमेरिकामा एक करोड १० लाखभन्दा बढी आप्रवासी गैरकानुनी रुपमा बसोबास गर्दै आएका छन् । यसअघिको कार्यकालमा पनि ट्रम्पले गरेको गैरकानुनी रुपमा बस्दै आएका आप्रवासीलाई सोझै देश निकाला गर्ने घोषणालाई त्यहाँको सर्वोच्च अदालतले रोकिदिएको थियो ।

प्रतिक्रिया