February 24, 2025, 4:02 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

धर्म, कमाई र मनोरञ्जनका प्रतीक-गढीमाई मेला

मंसिर २३, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

शीतलप्रसाद महतो,  नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक अधिराज्य हो । नेपाली सांस्कृतिक विविधताभित्र भोजपुरी संस्कृतिको आफ्नै पहिचान र महत्व छ ।

त्यसमा पनि प्राचीन रुपमा सम्पन्न विविध लोकनृत्य, चाडपर्व र मेला जात्राका कारण भोजपुरी संस्कृति आफैँमा गरिमापूर्ण छ ।

होली, दुर्गापूजा, दिपावली, छठलगायतका विभिन्न सामाजिक चाडपर्व र मेला जात्राले भोजपुरी संस्कृतिको सहिष्णुतापूर्ण इतिहासलाई झनै समृद्धशाली बनाएको छ । यस क्षेत्रमा मनाइने विविध मेला जात्रामध्ये सदा झैँ आपसी सामञ्जस्य र सद्भाव, मेलमिलाप र सौहार्दता तथा खुसी र मनोरञ्जनको पर्व आएको छ– गढीमाई मेला ।

गढीमाई मेला भोजपुरी क्षेत्र अर्थात् तराई–मधेसकै एक प्राचीन सांस्कृतिक र धार्मिक सम्पदा हुन् । यहाँ प्रत्येक पाँच वर्षमा नेपाल र छिमेकी मुलुक भारतका लाखौँ हिन्दू धर्मावलम्बी भक्तजनको भीड हुन्छन् ।

आफ्नो मनोकामना पूरा हुने इच्छा र विश्वासका साथ माईको दर्शनका लागि आउने श्रद्धालु भक्तजनकोे वीरगञ्जदेखि नै सडकमा लर्को देखिन्छ

मङ्सिर शुल्क सप्तमीको मध्यरातिमा सबैभन्दा पहिले गढीमाई मन्दिरका मूल पुजारी मङ्गल चौधरीले लिपपोत गरेर विधिवत् रुपमा पूजाआर्चना गरी गढीमाईलाई रिझाउँछन्, अनि माईको मूर्तिमा पाँच वर्षसम्मको पूजाआर्चना एकैपटक गर्छन् ।

पुजाका लागि प्रत्येक वर्ष गाउँभरिमा नै सबैभन्दा पहिले लगाएको धानबालीबाट प्राप्त धानलाई शुद्धताका साथ राखेर गढीमाईको मेला परेको वर्षमा त्यस धानलाई कुटेर निकालिएको चामलको खिर बनाई प्रसादस्वरुप माईलाई अपर्ण गरिन्छ र त्यसपछि दुईवटा हाँसको अण्डालाई बलि दिएर पूजाअर्चना गरेपछि मात्र मूल पुजारीले तान्त्रिक विधिअनसार पुजा शुरु गर्ने गर्छन् ।

मूल पुजारीले तान्त्रिक विधिअनुसार माईको पूजाआर्चना गरेपछि गाढीमाईको पुजाका लागि राखिएको दियो (बत्ती) आफैँ बल्छ र त्यसपछि मूल पुजारीले आफ्नो शरिरको महत्वपूर्ण पाँच अङ्ग जस्तै निधार, आँखाको माथिको भाग, जिब्रो, छाती र दाहिने तिघ्राको रगत दिई नरबलिको परम्परालाई कायम राखेको स्थानीय बासिन्दाहरुको भनाइ छ ।

मूल पुजारीले पूजा सम्पन्न गरेपछि कुभिण्डो र सेतो मुसाको बलि दिन्छन् । माईको प्रतापले बत्ती आफैंँ बल्छ र सेतो मुसो पनि कर्तबाट आइपुग्छ भन्ने जनधारणा रहे पनि अचेल सेतो मुसा जङ्गलबाट समातेर ल्याउने गरिन्छ ।  त्यसपछि बोका, सुँगुर, राँगा र हाँसको बलि दिने गरिन्छ ।

पञ्चवलि दिइसकेपछि मात्र श्रद्धालुलाई बलि चढाउने अनुरोध गर्ने प्रचलन रहेको छ । यो मेलाको विशेषता नै बत्ती आफैंँ बलेपछि बलि दिन शुरु गरिन्छ र बत्ती निभेपछि बलि दिन बन्द गरिन्छ । त्यसबेलासम्म बलिदिन नसकेका राँगाहरुको कान काटेर छाड्ने प्रचलन पनि रहेको छ ।

यो मेलामा बनारस (भारत) का डुमराजाको राँगो बलिका लागि ल्याउने गरिन्छ, जुन सबैका लागि आकर्षणका केन्द्र हुने गर्दछ । गढीमाईको मूल मन्दिरमा बलि नदिएर त्यसलाई नजिकै अर्थात करिब ७५ मिटर पूर्व रहेको ब्रह्मस्थानमा राखिएको लिङ्गोमा बलि दिइन्छ ।

राँगाको बलि चाहिँ सप्तमीका दिन मात्र दिइन्छ भने बोका र अन्य पशुपंक्षीको बलि अष्टमीदेखि त्रयोदशीसम्म दिइने गरिन्छ । राँगा बलिका लागि दुई बिघा क्षेत्रफलमा फैलिएको बधशालाभित्र साढे दुई सय मार हान्नेलाई मेला मूल समितिबाट अनुमतिपत्र दिइएको छ । बधशालाको पर्खाल १२ फिट उचाइमा बनाइएको छ । अघिल्लोपटक १० हजारको हाराहारीमा राँगा सयौंको सङ्ख्यामा बोका, हाँस, परेवाको बलि दिइएको थियो ।

मेलाका अवसरमा भाकल गरिएका बलि दिन नसक्नेले मकर सङ्क्रान्ति र फागुको दिन पनि बलि दिन सक्छन् । पहिले पूजाका क्रममा गढीमाई मन्दिरको वर्गाकार परिधिलाई मन्त्रद्वारा अक्षता छरेर मूल पुजारीद्वारा घेराबन्दी गरिन्छ । यसो गर्नुको उद्देश्य मेलामा कुनै प्रकारको अनिष्ट हुन नपाओस् भन्ने हो ।

नेपाल–भारतको विभिन्न भाग र ठाउँबाट श्रद्धालु भक्तजन गढीमाईको शुभदर्शन र भाकलको राँगा एवं बोका चढाउन आउँछन् । नेपाल र भारतबीचमा सदिऔंदेखिको सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्धलाई अझ सुदृढ तुल्याउनमा यस मेलाले एउटा सांस्कृतिक सेतुको काम गरेको छ ।

मेलामा बलि चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । मन्दिर नजिकै रहेको पोखरीमा नुहाइधुवाई गरी चोखो भएर श्रद्धालु भक्तजनहरुले गढीमाईको जय भन्दै मन्दिरमा प्रवेश गर्छन् र माईको दर्शन एवं पूजा अर्चना गर्ने गर्छन् ।

आज आइतबारदेखि मेलामा दिइने बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो, रङ्गीचङ्गी सजावट, विभिन्न प्रदर्शनी, खेल तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएको छ । यस क्षेत्रका सर्वसाधारणले यो मेलालाई उत्सवका रूपमा मनाइरहेका छन् । सडक र मेलामा भीड बढेको छ ।

शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश विदेशका दर्शनार्थी मेला भर्न आउने गरेकाले भीड व्यवस्थापनका लागि मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।

यसैगरी मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ । यस मेलामा आउने दर्शनार्थीको सुविधाका लागि सडक, सुरक्षा, ट्राफिक, पानी, बत्ती र सञ्चारलगायतका विविध सुविधा पर्याप्त मात्रामा मिलाइएको छ ।

वीरगञ्जबाट १७ किलोमिटर पूर्व र बारा जिल्लाका सदरमुकाम कलैयावाट करीब सात किलोमिटर टाढा पसाहाखोला नजिक अवस्थित गढीमाईमा यो मेला लागेको छ । पशुपंक्षीको बलिको हिसाबले यो मेला एशियाको सबैभन्दा बढी बलि दिइने शक्ति पीठको रुपमा बिख्यात छ ।

अघिल्लोपटक ९० लाखभन्दा बढी दर्शनार्थीले गढीमाईको पुजाअर्चना र दर्शन गरेको तथ्याक छ । यस बर्ष करिब एक करोड मानिस मेला हेर्न आउने तथा ७० हजारभन्दा बढी पशुपंक्षीको बलि चढ्ने अनुमान मेला मूल आयोजक समितिले गरेको छ ।

गढीमाईमा हजारौँ पशुपक्षीको बलि चढाइए पनि त्यहाँ झिँगा भने देखिँदैन । यसलाई श्रद्धालु भक्तजनले गढीमाईको महिमाको रुपमा लिने गर्छन् ।

बलि दिएको राँगाको टाउकालाई ब्रह्मस्थान नजिकैको चौरमा खाल्डो खनी गाडिन्छ । मेलामा ज्यादै घुइँचोले गर्दा कलैयाबाट बरियारपुर जाने बाटोमा पर्ने पसाहा नदी पार गर्नासाथ बलि दिन थालिन्छ ।

यो मेलाको अर्को महत्वपूर्ण पक्ष भनेको मनोरन्जन पनि हो । ग्रामीण समुदायका लागि मनोरन्जन प्रदान गर्ने यो मेला एउटा सशक्त माध्यम बनेको छ । मेला अवधिभर विभिन्न थरीका पिङ (झुला), मौतका कुवा, सर्कस आदि मनोरञ्जनका साधन राखिएका छन् भने रातिको समयमा नाच र नौटङ्की हेरेर मनोरञ्जन गरिन्छ ।

बैष्णोदेवी मन्दिरले यसपालि मेलालाई थप आकर्षण बनाएको छ । मेलामा दुई वटा स्थानमा काठ र बाँसबाट वैष्णोदेवीको भव्य मन्दिरको निर्माण गरिएको छ ।

लाखौँ मानिस भेला हुने भएकाले यो मेलामा व्यापारिक कारोबार पनि राम्रै हुन्छ । आवश्यक पर्ने घरायसी सामानहरुको खरिद गर्न किसानहरुले मङ्सिरमा भित्र्याइएको धान बेचेर पैसाका जोहो गरेका हुन्छन् ।

जाडोयाममा लाग्ने यो मेलामा विशेषगरी पहाडबाट ल्याइएका सुन्तला, जडिवुटी, कम्बल, तेजपात, पहाडी फलफूलहरु, खुकुरी, घीउ र महजस्ता सामानहरु तराई वा भारतीय ग्राहकहरुले किनेर जैजान्छन् भने पहाडका ग्राहकले कपडा, फलामका सामान, भाँडाकुँडा र मसाला किन्छन् ।

कस्मेटिक्स र सस्ता गरगहनालगायतका सामानहरु बेच्ने पसलहरुमा महिलाको भिडभाड देखिन्छ । दही, च्यूरा, जेरीपुरी र मिठाइ बेच्ने पसलहरुलाई पनि भ्याइनभ्याइ हुन्छ ।

गढीमाई मेला आफ्नो इष्टमित्र र नातागोतासँग मिल्ने तथा भेटघाट गर्ने अवसर पनि हो । मेला लाग्ने आसपासका गाउँ र सहरका घरघरमा पाहुना भरिभराउ छन् ।

वीरगञ्ज, कलैयालगायत वरिपरिका गाविसहरुमा टाढाटाढाबाट मेला हेर्न आएका आफन्तहरु दुई÷चार दिन बस्ने गर्दछन्, जसलाई मेहमानी भन्ने गरिन्छ ।

बरियापुर नजिकका झण्डै आधादर्जन बढी गाउँमा गाउँलेहरुले मेहमानीका लागि मेला सुरु हुनुभन्दाअघिदेखि नै चामल, दाल र ओढ्ने ओछ्याउने कपडालगायतका बन्दोबस्तीका सामानहरु जोहो गरेर राखेका हुन्छन् ।

धर्म, कमाई र मनोरञ्जनका हिसाबले सर्वाधिक प्रख्यात यो पौराणिक मेलामा पहाडी र मधेसी समुदायको वास्तविक झझल्को पाइन्छ ।

यस अर्थमा गढीमाईको मेला सद्भावको मेला पनि हो । आत्मीयता, आनन्द र आस्थाको अटुट प्रदर्शनस्थलको रुपमा रहेको यस मेलालाई बढी व्यवस्थित पार्नका लागि सबै पक्षबीच समन्वय, समझदारी र सहकार्य हुनुपर्दछ ।

प्रतिक्रिया