February 24, 2025, 4:15 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा भेटियो

मंसिर २१, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

कञ्चनपुर – हिमालय पर्वतमालामा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलो पटक कञ्चनपुरमा देखा परेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेला परेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेला पारेका हुन् ।

हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । ‘तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ’, चराविज्ञ डगौराले भने, ‘कञ्चनपुरमा भने पहिलो पटक देखा परेको छ, यो चरा यस क्षेत्रका लागि दुर्लभ नै हो ।’ अहिलेसम्मको तथ्यांकमा यो चरा नदेखिएको उनको भनाइ छ ।

उनका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ । यसले गर्मीका बेला प्रजनन गर्ने गर्दछ । घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोर्लने गर्दछ ।

कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ । घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ ।

पोथी निलो खैरो रङको हुन्छ । घाँटी सेतो हुन्छ । ‘यस चराका जोडी प्रजननको समयमा एक्लै वा जोडीमा देखिने गर्दछन्’, चराविज्ञ डगौराले भने, यसले स–साना कीरा र कमिलालाई आहाराका रूपमा खाने र बचेरालाई खुवाउने गर्दछन् ।’

तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ ।

सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ ।

प्रतिक्रिया