January 22, 2025, 11:11 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

रविका समर्थक र प्रहरीबीच झडप हुँदा ५० बढी घाइते

मंसिर २०, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

भरतपुर,  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद् रवि लामिछानेलाई सहकारी प्रकरणमा बयानका लागि चितवन ल्याइएपछि रास्वपाको प्रदर्शन चितवनकेन्द्रित भएको छ ।

बुधबार प्रदर्शनका क्रममा रविका समर्थक र प्रहरीबीच झडपको स्थिति सिर्जना भयो । चौबीसकोठीबाट मालपोत चोकतर्फ जाँदै गरेका प्रदर्शनकारीलाई मंगलबारजसरी नै प्रहरीले रोक्न खोज्यो । ठूलो संख्यामा सहभागी प्रदर्शनकारीले प्रहरीलाई धकेल्दै अगाडि बढे ।

शान्तिपूर्ण प्रदर्शनलाई नरोक्न प्रदर्शनकारीहरुले आग्रह पनि गरेका थिए । तर, प्रहरीले जिल्ला प्रहरी कार्यालयको गेटअगाडिबाट प्रदर्शनकारीलाई अगाडि बढ्न दिएन ।

प्रहरीको कमान्ड स्वयं जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले गरेका थिए । प्रदर्शनकारी अगाडि बढ्ने र प्रहरीले रोक्ने क्रममा दोहोरो झडप भएको हो ।

झडपका क्रममा प्रदर्शनकारीतर्फबाट ढुङ्गा प्रहार भयो भने प्रहरीले लाठीचार्ज र पानीको फोहोरा हान्यो । पानीको फोहोरा फाल्ने प्रहरीको गाडीले काम नगरेपछि प्रहरीले दर्जनौँ अश्रुग्यास हानेको हो ।

झडपका क्रममा दुवैतर्फ गरी ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ । प्रदर्शनकारीतर्फ ४० जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुसालले बताए ।

‘प्रदर्शनका क्रममा म आफैँ पनि घाइते भएँ, हाम्रा २५ जना साथीहरु घाइते भई उपचार गराएर डिस्चार्ज भइसक्नुभएको छ ।

विभिन्न अस्पतालमा १५ जना साथीहरु उपचाररत हुनुहुन्छ, यसबाहेक अन्य थुप्रै साथीहरु पनि घाइते हुनुभएको भन्ने जानकारी आएको छ’, उनले भने । उनका अनुसार भरतपुर अस्पतालमा पाँच, नारायणी सामुदायिकमा सात र भरतपुर सामुदायिकमा तीन जना घाइते उपचाररत छन् ।

प्रहरीतर्फ १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

प्रदर्शनकारीबाट एक्कासि ढुङ्गा प्रहार भएपछि नियन्त्रणमा लिने काम भएको उनको दाबी छ । ‘योभन्दा बढी संयमता त हुनै सक्दैन, अधिकतम संयमता अपनाइएको छ ।

प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले छेक्ने काम गरेको हो’, उनले भने, ‘संयमता अपनाउन प्रदर्शनकारीहरुलाई मेरो आग्रह छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालका अनुसार १३ जना घाइतेको अस्पताल लगेर उपचार गरिएको हो ।

प्रहरी संयमित हुँदाहुँदै पनि प्रदर्शनकारी उत्तेजित भएपछि सामान्य बल प्रयोग गरिएको उनले बताए ।

सरकारी वकिलको कार्यालयमा अभियुक्तको बयान चलिरहेको र जिल्ला प्रहरी कार्यालयको क्षेत्र आफैँमा सुरक्षाका दृष्टिकोणले संवेदनशील ठाउँ भएकाले प्रदर्शनकारीलाई रोकिएको उनले जानकारी दिए ।

आन्दोलनमा घुसपैठ भएको र प्रहरीले संयमता नअपनाएको चितवन क्षेत्र नं १ बाट निर्वाचित रास्वपाका सांसद् हरि ढकालले बताए ।

प्रदर्शनका क्रममा प्रहरीले अचानक लाठीचार्ज गरेको उनले बताए । ‘जुन किसिमले लाठी बर्साइयो, पानीको फोहोरा हानियो, त्यो निन्दनीय छ’, उनले भने । सभ्य किसिमले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीबाट दमन गर्ने काम भएको उनले बताए ।

‘प्रदर्शनकारीलाई उत्तेजित बनाउने शैली अपनाइएको छ । रास्वपाका ४० जना साथीहरु घाइते हुनुभएको छ’, उनले भने, ‘न्यायका लागि चितवन बोल्ने गरेको छ, बुधबार पनि बोल्दै थियो । आवाजलाई दबाउन दमन गरियो, चितवनले यस्तो सहँदैन ।’

चितवनमा रवि लामिछानेको बयान

चितवन साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा चितवन ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय चितवनले बुधबार पनि बयान लिएको छ । लामिछानेसँग बुधबार दिनभर घन्टा बयान लिइएको थियो । मंगलबार चार घन्टा बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले लामिछानेको बयान लिएका हुन् ।

चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोपमा लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका लागि काठमाडौँ, त्यसपछि मंगलबार जहाजमार्फत चितवन ल्याइएको थियो ।

रवि र छविविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी

यसैबीच, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा चितवनमा बयान दिएका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पर्सा जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरुसहित १४ जनालाई अदालतबाट पक्राउ अनुमति पाएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालले पर्सा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको बताए । वीरगन्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्नका लागि पर्सा अदालतले पक्राउको अनुमति दिएको उनी बताउँछन् ।

सानो पाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा करिब ८ करोड रूपैयाँ गएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । सहकारीबाट रकम जाँदा गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने थिए । चितवन पोष्टबाट ।

प्रतिक्रिया