इनरुवा (सुनसरी), मंसिर १३-
सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई साह कसरी धान काट्न र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्ने चिन्ता थियो । उहाँजस्तै गढी–६ कै ५० वर्षीया रोना साह धान काट्नमा नै व्यस्त हुनुहुन्थ्यो ।यही मङ्सिर १६ गते सुनसरीको १२ स्थानीय तह मध्यको गढी ६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको विषयमा उहाँलाई खासै मतलब थिएन । उहाँहरू गढी ६ का प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।
कोही ज्याला मजदुरीमा त कोही सानोतिनो व्यापार–व्यवसाय गरेर दैनिक गुजारा टार्दै आएकाले सोही काममा व्यस्त हुने गरेको स्थानीय मतदाता अञ्जुदेवी साहले बताउनुभयो । “चुनावले घरखर्च चलाइदिँदैन त्यसका लागि काम गर्नैपर्यौ चुनावका दिन जाउला कुनै एक जनालाई मतदान गरौँला”, उक्त क्षेत्रकी मतदाता अञ्जु साह भन्नुहुन्छ । प्रायः मतदाता घरमा नभेटिने गरेको र चुनावप्रति धेरै चासो नरहेको पाइएको छ ।
मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या भएको छ भने कसको पक्षमा नतिजा जान्छभन्ने ठम्म्याउन कठिन भएको छ । विसं २०७९ को स्थानीयतहको निर्वाचनमा गढी–६ मा एमालेका षडानन्द उराँवले जित्नुभएको थियो । उहाँले सात सय १२ मत ल्याएउनुभएको थियो । उहाँको निधनपछि यस वडामा पुनः चुनाव हुन लागेको हो ।
गत चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले चार सय २४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी चार सय १६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्थ्यो ।
जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी ६ मा जित निकाल्ने कसरतमा छ । गढी-६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त वडामा एक हजार आठ सय ७३ पुरुष र एक हजार सात सय ४९ महिला मतदाता छन् । रासस
प्रतिक्रिया