January 11, 2025, 10:04 am
» आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री » कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु » THE 303rd PRITHIVI JAYANTI & NATIONAL UNITY DAY » अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो » राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही

मंसिर १०, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौँ,  : अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ ।

तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता÷सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ ।

काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिइ प्रकाशन/प्रसारण गर्ने युट्युब च्यानल प्रयोगकर्तामाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाइ कारबाही प्रक्रियाअघि बढाएको छ ।

यही मङ्सिर ४ गते यस्तै खालका ९ युट्युब च्यानल र पेज प्रयोगकर्तालाई काउन्सिलले कारबाही गरेको थियो । आज विना दर्ता सञ्चालित मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्यूज, मिडिया ताजा खबर, ऋणी एशोसिएशन र हट न्यूज नेपाल नामक युट्युब च्यानल र पेजलाई थप अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरिएको हो । अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामग्री हटाइ, उक्त सामग्री प्रसारण गर्नुको कारणसहित २४ घण्टाभित्र पेस गर्न काउन्सिलले निर्देशन दिएको छ ।

“सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ । संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिबद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया