December 23, 2024, 2:24 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

विष्णुमति करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

मंसिर ४, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौँ, : टोखा नगरपालिका-९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ ।

नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिनुभयो ।

“सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएका हौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताउनुभयो ।

टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उहाँको भनाइ थियो ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो ।

नगरपालिकाले केही दिनअघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।

 

प्रतिक्रिया