December 25, 2024, 1:43 pm
» बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त » इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक बिदा : दमननाथलाई सम्मान कि अपमान ?

मंसिर ३, २०८१ मा प्रकाशित | १५००दर्शक तीव्रखबर

काठमाडौं– गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण संघीय राजधानी उपत्यकाका तीनै जिल्लामा ठूलो क्षति गर्‍ यो । असोज १२ गते बिहानको बाढीमा खास गरी काठमाडौं र ललितपुरमा दर्जनौँ बासिन्दा बगिरहँदा सरकार पूरै निद्रामा थियो । निद्रामा यसअर्थमा थियो कि असोज १२ गते बिहानैदेखि बाढीमा परेका नागरिकले जगुहार मागिरहँदा राज्यसंयन्त्रको अत्तोपत्तो थिएन ।

त्यहीबेला प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा व्यस्त थिए । असोज १० गते महासभामा सम्बोधन गरिसकेकाले नेपालमा बाढीले बर्बादी निम्त्याइरहेका बेला उनलाई पनि छिटो आउन दबाब थियो । तर उनी समय छोट्याएर फर्किएनन् ।

असोज १२ गते बिहान बाढीले उपद्रो मच्चाएर ठूलो जनधनको क्षति गरिरहँदा कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह भने दावाँली मिलन क्लबको कार्यक्रममा माला थापेर बसिरहेका थिए । त्यहीकारण नागरिकको उद्दार र राहतमा जुट्ने गरी संघीय सरकारको बैठक दिउँसो मात्रै बग्यो ।

उता बाढीमा बगेका नागरिकको बरु सर्वसाधारणले उद्दार गरेर ज्यान बचाए । अर्कातिर गृहमन्त्री रमेश लेखक पनि कुहिरोको काग बनेर अल्मलिएका थिए । तत्कालै सरकारले सुरक्षा संयन्त्रलाई उद्दारमा खटाउन सकेन । सुरक्षाकर्मी आफ्नो तरिकाले ढिलोगरि उद्दारमा जुटे, नागरिकको ज्यान बचाए ।

राज्यको प्रतिनिधिका रुपमा सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) ले सरकारको लाज ढाकिदिए । संघीय राजधानीमै निम्तिएको बाढीको बबार्दी हेर्न गृहमन्त्री लेखक १० दिनपछि बल्ल ललितपुर पुग्न भ्याए ।

प्रधानमन्त्री र अन्य मन्त्रीले त बाढी प्रभावित क्षेत्रमा निस्कने जाँगर नै चलाएनन् । बरु गृहमन्त्रीले संसदीय समितिमा पुगेर असोज १२ गते काठमाडौंको आकाशको भिजिबिलिट कम हुँदा बाढीपीडितको उद्दारमा समस्या भएको भनेर ढाँटिदिए । जबकि त्यस दिन बिहानैदेखि काठमाडौंको आकाशको भिजिबिलिटी ५ किलोमिटरभन्दा धेरै रहेको र जहाजहरू पनि निर्वाध उडेको विवरण त्रिभुवन विमानस्थल कार्यालयबाट सार्वजनिक भइसकेको छ ।

नेकपा एमाले–नेपाली कांग्रेसले बनाएको दुईतिहाइ बहुमतसहितको सरकारको काम गर्ने शैली कति चुस्ता दुरुस्त छ भन्ने कुराको पोल असोज १२ को बाढीले खोलिदिएको थियो ।

फेरि उही गल्ती

दुईतिहाइ बहुमतनजिकको शक्तिशाली सरकारले त्यस्तै गल्ती फेरि एक पटक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनपछि दोहोर्‍याएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको अर्को ढिलासुस्तीका कारण फेरि हाँसीमजाक र आलोचना खेप्नु परेको छ ।

खासमा ८३ वर्षीय पूर्वसभामुख ढुंगानाको निधन आइतबार दिउँसो २ बजे नै नयाँबानेश्वरको फ्रन्टलाइन अस्पतालमा भएको थियो । कलेजोका बिरामी उनी २०४८ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । त्यसपछि उनी २०४८ असार ९ गते सभामु बने । उनले राजनीति, संसद् र मानवअधिकार क्षेत्रमा देशलाई गतिलै योगदान दिएका हुन् ।

त्यही भएर ओलीले आइतबार दिउँसो ३ बजे नै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जलीका शब्द खर्चिए । ‘२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु’, ओलीले आइतबार दिउँसो नै भनेका थिए, ‘नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’

आइतबार दिउँसो श्रद्धाञ्जलीका शब्द खर्चिएका ओलीले त्यहीबेला मन्त्रिपरिषद् बैठक डाक्न सक्थे । संवैधानिक पद सम्हालिसकेको एकजना राजनीति व्यक्तित्वलाई गुमाउँदा देशले ठूलै क्षति भोगेको सन्दर्भमा आइतबार नै क्याबिनेट बोलाएर शोकसम्बन्धी निर्णय गराउन सकिन्थ्यो । तर सोमबार बिहान मात्रै मन्त्रिपरिषद्को नियमित बैठक बस्यो ।

पूर्वसभामुख ढुंगानाको श्रद्धाञ्जलीका लागि सोमबार शोक बिदा दिने निर्णय यही मन्त्रिपरिषद् बैठकले गर्‍यो । उक्त शोक बिदासम्बन्धी निर्णयबारेको जानकारी प्रधानमन्त्रीको सचिवालयले बिहान ९ बजेर ३० मिनेटमा ह्वाट्एप ग्रुपमा पठायो । जुनबेला विद्यार्थी, बैंकका कर्मचारी, सरकारी कर्मचारी र सार्वजनिक जिम्मेवारीमा रहेकाहरू घरबाट निस्केर कार्यालयतर्फ हिँडिसकेका थिए । कोही कार्यालय पुग्दैथिए, कोही पुगेका थिए ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कार्यालय खुल्ने समयमा दिए । उनले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि कार्यालय खुल्नै लाग्दा सुनाए ।

अनौठो त के छ भने मन्त्रिपरिषद्को उक्त निर्णय औपचारिक रुपमा गृहमन्त्रालयले सार्वजनिक गर्दा मध्यान्ह सवा १२ बजिसकेको थियो । गृहले मन्त्रिपरिषद्को शोकबिदासम्बन्धी निर्णय सार्वजनिक गरिसक्दा अधिकांश सरकारी कर्मचारी पनि कार्यालयमा हाजिर भइसकेका थिए ।

विद्यालय र कार्यालय खुल्नेबेलामा सरकारले दिएको सार्वजनिक बिदा काठमाडौंमै लागु भएन । खासगरी विद्यालयहरूले यो बिदालाई मानेनन्, किनभने पढ्न आएका विद्यार्थी कक्षाकोठामा छिरिसकेका थिए । सरकारको यो निर्णय हिमाली र पहाडी जिल्लाका विद्यार्थी आधा बाटोमा पुगिसकेपछि आएको थियो ।

आलोचना र हाँसीमजाक

कार्यालय खुलिसकेपछि सरकारले दिएको यो सार्वजनिक बिदा सामाजिक सञ्जालमा मजाकको विषय बनेको छ । दमननाथको योगदानको सम्मानमा दिइएको शोक बिदाका नाममा सरकारले उनकै अपमान गरेको कुरा सामाजिक सञ्जालका टिप्पणीबाट बुझ्न सकिन्छ ।

ट्वीटरमा टुटुल्केले सरकारप्रति व्यंग्य कस्दै लेखेका छन्, ‘दमननाथ हिजो अप्रत्यासित रुपमा बिते, तैपनि ब्युँतिन्छन् कि भनेर सरकारले एक रात कुर्यो, तर फर्किएनन् । त्यसैले आज अप्रत्यासित रुपमै बिदा दियो ।’

ट्वीटरमै राजन दादाले सार्वजनिक बिदाबारे सरकार र कांग्रेस–एमालेको संयन्त्रलाई प्रहार गरेका छन् । ‘सार्वजनिक बिदा दिने निर्णय कतिखेर गुर्नपर्छ भनेर सुझाव चाहिँ संयन्त्रले दिन सकेनछन्, यो सर्कस जारी रहोस् ।’

रञ्जित तामाङले पनि शोकबिदाबारे सरकारमाथि कटाक्ष गरेका छन् । ‘बिदा हिजै बेलुका दिए हुन्थ्यो । लाखौँ मान्छेको कार्यतालिका बिग्रिने गरि कार्यालय लाग्ने बेला किन बिदा दिनु ? यसको असर कतिसम्म पर्छ भने, त्यत्रा सरकारी क्यान्टिनमा पाक्दै गरेको खाना खेर जान्छ । डुबेका ती साना व्यवसायीका कुरा कतिलाई ख्याल ठट्टा लाग्न सक्छ, तर तीतो यथार्थ यही हो ।’

समिरमणि दीक्षितले पनि देशलाई योगदान दिनेलाई आदर देखाउने अरु उपाय खोज्न सुझाएका छन् । ‘सार्वजनिक बिदाको लागि मापदण्ड तोकिएको छैन र ? कि सत्ताधारीले गर्ने हो आफूखुसी ? दिवंगतलाई आदर देखाउने अरु उपाय छैनन् हो ?’, उनले सोधेका छन् ।

शोकबिदालाई लिएर हिमाल दाहालले अर्को घतलाग्दो टिप्पणी गरेका छन् । ‘ सरकारले शोकबिदा दिएको बेला कर्मचारी साथी त फिल्म हेर्न र घुम्न चल्दिरहेका । अघि टिल्ल भइसकेछ । शोकभन्दा पनि मोज पो भो त यो’, उनले भनेका छन् ।

शोकबिदाबारे जगदीश थापाले मजाकसहित सरकारलाई ब्यंग्य गरेका छन् । ‘अफिसमा साथी शौचालय गएको बेला सार्वजनिक बिदाको सूचना आएछ । कार्यलय सहयोगीले शौचालयमा चाबी लगाएर घर हिँडेछ, भर्खरै साथीले फोन गरेर यस्तो बिजोग भयो भन्दै थियो’, उनले सरकारलाई यसरी व्यंग्य गरेका छन् । खबरहब  बाट

 

प्रतिक्रिया